समाज

बराहतालका सुकुम्वासीः १५ वर्षपछि बल्ल खानेपानीको सुविधा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ५ गते १८:१५
बराहतालका सुकुम्वासीः १५ वर्षपछि बल्ल खानेपानीको सुविधा  (भिडियो रिपोर्टसहित)

५ माघ २०७८ सुर्खेत । ६२ सालमा माओवादीले भूमिहीन सुकुम्बासीलाई जग्गा दिलाउन भनेर सुर्खेतको बराहताल गाउँपालिका–६, इखेनीको घना जंगल फाँडेको थियो ।

जंगल मासेर भूमिहीनले जग्गा त पाए तर उनीहरुले खानेपानी, सडक, विद्युत, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत सुविधा भने पाएनन् । वस्ती बसेको १५ वर्षपछि बल्ल उनीहरुले खानेपानीको सुविधा पाएका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ६, इखेनीका बासिन्दाले पिउनका लागि समेत शुद्ध पानी पाएका थिएनन् । भेरी नदीको धमिलो पानी खानुपर्ने बाध्यता थियो ।

खेती गर्न पनि आकाशे पानीको भर थियो । गैरसरकारी संस्था रिनुएवल वर्ल्ड र बराहताल गाउँपालिकाको सहकार्य तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा गाउँमा ८८ वटा धारा निर्माण गरिएका छन्। घारामा पानी आएपछि स्थानीयले राहत महसुस गरेका छन् ।

यो ठाउँमा सुर्खेत, जाजरकोट, कालिकोट, दैलेख, प्युठान र अछामका ८५ घरधुरी बसेका थिए । अहिले त्यो संख्या बढेर १०५ घरधुरी पुगेको छ । ६६ लाख १५ हजारको लागतमा भेरी नदीको पानी सोलार पम्पिङमार्फत ट्याङ्कीमा जम्मा गरी घरघरमा वितरण गर्न थालिएको छ ।

आयोजनाको दिगोपनाका लागि पानी प्रयोग गरेबापत एक घरले महिनाको एक सय रूपैयाँ शुल्क तिर्ने गरेका छन् । अहिले त्यही पानी प्रयोग गरेर तरकारी खेती समेत गर्न पाएका छन् ।

अझै पनि इखेनीका स्थानीयले सिटामोल खान र सुरक्षित सुत्केरी गराउन घण्टौं पैदल हिँडेर जानुपर्ने बाध्यता छ । ४० हेक्टर बढी जमिन भएको इखेनीमा सिंचाइको व्यवस्थापन गर्न सके तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न सकिने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *