समाज

अतिथि सदन यात्री निवास लिजमा लिएर अत्याधुनिक होटल ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ४ गते २१:०४
अतिथि सदन यात्री निवास लिजमा लिएर अत्याधुनिक होटल ! (भिडियो रिपोर्टसहित)

४ माघ २०७८ जनकपुरधाम। सार्वजनिक र धार्मिक सम्पदाहरु निजी कम्पनीलाई लिजमा दिएको भन्दै अर्को आलोचना भइरहेको छ । पशुपतिको धर्मशाला व्यवस्थापन हेर्ने जिम्मा लिएको निजी कम्पनीले नै जनकपुरधामस्थित अतिथि सदन यात्री निवास लिजमा लिएर अत्याधुनिक होटल चलाउने तयारी गरेको छ ।

यो संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत बृहत जनकपुरधाम क्षेत्र विकास परिषद्ले सञ्चालन गर्दै आएको जनकपुरधामस्थित अतिथि सदन ‘यात्री निवास’ हो । सरकारी स्वामित्वको यो अतिथि सदन अहिले निजी कम्पनी द पिक हस्पिटालिटी प्रालिले २० वर्षका लागि भाडामा लिएको छ ।

काठमाडौंस्थित पशुपतिनाथ क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन हेर्ने यो कम्पनीले यात्री निवास आफ्नो हिसावले चलाउने भएको छ । मठिहानी मठले परिषदलाई लिजमा दिएको करिव २३ कठ्ठा मध्ये करिव १८ कठ्ठा क्षेत्रफलमा २१ कोठे तीन तल्लाको भवन र एक सभाहलसहित प्रालीले लिजमा लिएर पुनर्निर्माणको काम थालेको छ । यात्री निवास २० वर्षका लागि वार्षिक ३० लाखमा लिजमा दिइएको छ । सम्झौता बारे परिषद् सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई जानकारी नै छैन ।

निजी कम्पनीले स्वीमिङ्ग पुलसहितका आधुनिक सुविधा व्यवस्थापन गरी यात्री निवासलाई निजी होटलका रुपमा चलाउने भएको हो । जबकी यस्को स्थापना जानकी मन्दिर दर्शनका लागि आउने धार्मिक पर्यटक र विशिष्ठ व्यक्तित्वहरुको आवासका लागि भएको थियो। भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शन गर्न आउने तीर्थालुलाई बस्नका लागि धर्मशाला बनाइदिएको हो । तर, निजी क्षेत्रलाई होटल सञ्चालन गर्न दिएपछि विरोध सुरु भएको छ ।

नागरिक अगुवाहरुले जनकपुरका गुठीका जमिनहरु जस्तै तत्काल जे भनिए पनि पछि सम्पुर्ण रुपमा कब्जा गर्ने मनशायले नै धर्मशालालाई हस्तान्तरण गरिएको शंका व्यक्त गरेका छन् । तर परिषद्ले धार्मिक पर्यटक तथा साधुसन्तको हकमा विशेष सेवा सुविधासहितको सम्झौता गरी मात्र सञ्चालन हुने गरी लिजमा दिएको दावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *