समाज

सुनसरीमा कोरोना नियन्त्रणमा प्रशासन यस्तो उदासिन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते २०:३५
सुनसरीमा कोरोना नियन्त्रणमा प्रशासन यस्तो उदासिन (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ सुनसरी । मोरङको रानी नाकामा कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि उच्च सतर्कता अपनाइरहँदा सुनसरीसँग सीमा जोडिएका स्थानमा भने कडाइ गरिएको छैन। जिल्ला प्रशासनले त्यहाँ अहिलेसम्म हेल्थ डेस्कसमेत राखेको छैन ।

कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जाँदासमेत सुनसरीको भण्टाबारीबाट सहजै नेपाल–भारत आवत् जावत् गर्न सकिन्छ । प्रशासनले राम्रोसँग निगरानी नगर्दा संक्रमण फैलिने त्रास बढेको छ । यतिसम्मकी सीमानाकामा हेल्थ डेस्क राख्नेबारे सुनसरी प्रशासनले बेवास्ता गर्दै आएको छ ।

सुनसरीमा नेपाल–भारत आवत् जावत् गर्ने १५ वटा स्थान छन् । तीन स्थानमा न हेल्थ डेस्क राखिएको छ न स्वास्थ्य जाँच नै हुन्छ । आवत जावत गर्नेले मात्र होइन, त्यहाँ कार्यरत कर्मचारी र सुरक्षाकर्मीले समेत मास्क लगाउँदैनन् ।

गत वर्ष नाकाहरुमा स्थानीय तहहरुले हेल्थ डेस्क राखेका थिए । प्रहरीको उपस्थिति पनि सिमानाकामा बाक्लै थियो । तर, अहिले नाकामा रहेका कर्मचारी र प्रहरीले सामान्य कागजात रुजु गरेर आवतजावत गर्न दिने गरेका छन् । यसले नेपालमा कोरोना जोखिमको घण्टी बजाउने संकेत गरेको छ ।

यसरी निर्वाध आवतजावत बढ्दा पनि सरकारी निकायबाट कुनै चासो देखाएको पाइँदैन । जिल्ला प्रशासन भने छलफल भइरहेको र तयारीमा लागेको तर्क गर्छ ।

सरकारको निगरानी र तयारीमा भएको सुस्तशैलीका कारण सिमानाकामा निर्वाध आवतजावत बढेको छ । सीमा नाकामा आवत् जावत्‌लाई कडाई गरेर संक्रमण दर रोक्नका लागि सम्बन्धित सबै निकायका साथै नागरिक आफैँ पनि सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *