समाज

राप्ती सोनारीमा बाघ आतंकः नियन्त्रणमा लिन विज्ञको टोली परिचालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ३ गते १७:२६
राप्ती सोनारीमा बाघ आतंकः नियन्त्रणमा लिन विज्ञको टोली परिचालन (भिडियो रिपोर्टसहित)

३ माघ २०७८ बाँके । पाटे बाघको आक्रमणबाट तीन महिनाभित्र चार जनाको मृत्यु भएपछि अहिले बाँकेको राप्ती सोनारी क्षेत्रमा त्रास बढेको छ । आक्रमण गर्ने बाघ नियन्त्रणमा लिन विज्ञको टोलीले काम गरिरहेको छ ।

बाँकेको राप्ती सोनारी क्षेत्रमा मान्छेलाई आक्रमण गर्दै आएको पाटेबाघ नियन्त्रण गर्नका लागि बिज्ञ सहितको प्राविधिक टोली एक सातादेखि बाँकेको फत्तेपुर क्षेत्रको वनमा खटिएको छ । चितवनबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेनरी डाक्टर र प्राविधिकसहितको टोली बन्दोबस्तीका सामग्रीसहित बाघको पदछाप पछ्याइरहेको छ ।

करिब ३५ जनाको टोलीले २ वटा हात्तीसहित फत्तेपुर क्षेत्रको जंगलमा खटिएर बाघको गतिविधि अनुगमन गरिरहेको छ । बाघलाई लोभ्याउन भैंसीको पाडो बाँधेर राखिएको छ । पाडो शिकार गर्न आएका बेला बाघलाई बेहोस पार्ने गोली हानेर नियन्त्रणमा लिने प्राविधिकको योजना छ ।

बेहोस बनाएपछि बाघलाई राख्नका लागि पिंजडा पनि तयारी अवस्थामा राखिएको छ ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको मृत्यु भएको छ । निरन्तर रुपमा पशु चौपायालाई पनि आक्रमण गरिरहेको छ । जसका कारण त्यहाँका स्थानीय त्रसित छन् ।

पूर्वपश्चिम राजमार्गको करिब ७२ किलोमिटर क्षेत्र बाँके निकुन्जसँग जोडिएको क्षेत्रमा दुई दर्जनभन्दा धेरै गाउँ छन् । २०१८ मा भएको गणना अनुसार बाँके निकुन्जमा २१ वटा बयस्क पाटे बाघ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *