जेनिस उप्रेती बने पहिलो द भ्वाइस अफ किड्स नेपाल
२ माघ २०७८ काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी शो द भ्वाइस किड्स नेपालको उपाधि जेनिस उप्रेतीले जित्नु भएको छ ।
चार कोचका आठ प्रतियोगीमध्ये सर्वाधिक भोट पाउन सफल टिम प्रमोदका जेनिस पहिलो भ्वाइस अफ किड्स नेपाल बन्नु भएको हो । आठ जना प्रतिस्पर्धीमध्येबाट दर्शकबाट प्राप्त मतका आधारमा विजेता घोषणा गरिएको हो ।
विजेता जेनिसले नगद १५ लाख रुपैंया पुरस्कार पाउनु भएको द भ्वाइस किड्सका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो । फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दिएका थिए ।
टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बू र झापाकै जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।
डिजिटल अडिशनमा सहभागी २० हजारमध्ये एक सय जना ब्लाइन्ड अडिसनमा सहभागी भए । ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिए ।
त्यसबाट लाइभका लागि २४ जना छानिएका थिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन् ।
प्रतिक्रिया