आर्थिक

कालिज पालनमा युवाको आकर्षण यसरी बढ्दो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १ गते १६:३४
कालिज पालनमा युवाको आकर्षण यसरी बढ्दो (भिडियो रिपोर्टसहित)

१ माघ २०७८ दाङ । कालिज पालनप्रति दाङका युवाहरु आकर्षित हुन थालेका छन् । सामान्य लगानी, थोरै मेहनत र राम्रो प्रतिफल पाउने भएपछि अहिले दाङमा धेरै युवाले कालिज फार्म संचालन गर्दै आएका छन् ।

दाङको घोराही उपमहानगरपालिका डाँडा गाउँका २९ वर्ष सन्दीप लम्सालले कालिज पालन ब्यावसाय सुरु गर्नुभएको छ । हातमा थोरै रकम थियो, त्यसलाई कहाँ लगानी गर्ने भन्ने सोच्दै गर्दा सन्दिपले युट्युबमा कालिज व्यावसायको सामग्री भेट्नुभयो र त्यसबाट आउने प्रतिफलले ध्यान तान्यो । युट्युबबाटै कालिज पाल्न सिक्नुभयो, त्यसलाई व्यवहारमा उतार्नुभयो । १५ लाखको लगानीमा शुरु गरेको यो व्यावसायबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।

सरकारले किसानलाई अनुदान दिइरहेको कुरा त सन्दिपले सुन्नुभएको त छ । तर, राजनितिक पहुँचको भरमा पाइने र वास्तविक किसानले अनुदान नपाउने बुझाई उहाँको छ ।

कुखुरा पालनभन्दा कालिज पालन सहज छ । स्वाद र स्वास्थ्यका लागि पनि लाभदायी रहेका कारण कालिजको परिकार सबैले मन पराउँछन् । आफु यो व्यवसायमा लागेका कारण अन्य युवाहरुलाई पनि बैदेशिक रोजगारमा गएर रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा कृषि पेसा गरेर बस्न कालिज पालक किसान नवराज लम्सालको सुझाव छ ।

सुट बुटमा सजिएका, यी युवा रुकुम पश्चिम मुसिकोट नगरपालिका(४ सोलाबाङका मेघराज खड्का हुनुहुन्छ । अष्ट्रेलियाका लागि भिसा आइसकेको थियो । तर, कोरोना महामारीका कारण जान पाउनु भएन ।

अब देशमै केही गरौं भनेर करिब ५० लाख लगानी गरेर उहाँले पनि व्यावसायिक कालिज पान सुरु गर्नुभएको छ । घोराही बजारदेखि करिब ४ किलोमिटर दक्षिणमा उहाँको कालिज फार्म छ । उहाँले विदेश जाने सोच त्यागिसक्नुभयो र अन्य युवालाई पनि देशमै रगत पसिना बगाउन सुझाव दिनुहुन्छ ।

दाङमा मात्र होइन, अहिले देशभरी नै कालिज पालनप्रति किसान आकर्षित छन् । वन्यजन्तु सम्बन्धि ऐनले कालिज, बँदेल लगायत जन्तुको पालन तथा प्रजनन गराउन पाउने भनिएको छ । पालन गर्नुपूर्व किसानले ऐन राम्रोसँग बुझ्नु जरुरी रहेको वन कार्यालयको भनाई छ ।

अन्य कृषि पेशा जस्तै कालिज पालनलाई पनि बढावा दिनु जरुरी छ । कृषि प्रधान देश नेपालमा पछिल्लो समय युवासमेत कृषिमा आकर्षित भइरहेको अवस्थामा सरकारले उनीहरुलाई कृषिकर्ममा लाग्न प्रोत्साहन दिने नीति ल्याउनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *