आर्थिक

आकाशियो महँगी, मूल्यवृद्धि नियन्त्रणमा सरकार उदासिन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३० गते २०:३८
आकाशियो महँगी, मूल्यवृद्धि नियन्त्रणमा सरकार उदासिन (भिडियो रिपोर्टसहित)

३० पुस २०७८ काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा महँगी आकाशिएको छ । जनताको ढाड सेक्ने गरी उपभोग्य सामग्रीमा भएको मूल्य वृद्धि नियन्त्रणमा सरकार लापरवाह देखिन्छ । दैनिक भान्सामा प्रयोग हुने खाद्य सामग्रीदेखि शिक्षा, यातायातसम्ममा दोहोरो अंकमा मूल्यवृद्धि भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मूल्यवृद्धि नियन्त्रण बाहिर गएको देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा वार्षिक मूल्य वृद्धिदर ६ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको थियो तर, यो पार हुँदै मूल्य वृद्धि ७ दशमलव ११ प्रतिशत पुगेको छ ।

गत वर्षको सोही अवधिको २ दशमलव ९३ प्रतिशत मूल्यवृद्धि रहेकोमा अहिले ह्यात्तै बढेको हो । यस्तै कात्तिक भन्दा मंसिरमा २ प्रतिशत नै मूल्य बढेको छ ।

घिउ र तेलमा साढे २८ प्रतिशत, यातायातमा १६ प्रतिशत, दाल तथा गेडागुडी १२ प्रतिशत, शिक्षामा समेत ११ प्रतिशतले मूल्यबृद्धि भएको छ  । काठमाडौं उपत्यकामा ५ दशमलव ९१ प्रतिशत, तराईमा ७ दशमलव ५२ प्रतिशत, पहाडमा ६ दशमलव ९५ प्रतिशत र हिमालमा ४ दशमलव ९१ प्रतिशत मूल्य बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

यसरी बढ्दै गएको मंहगी अबका दिनमा अझै बढ्न सक्ने संकेत समेत देखिएको छ । कोरोनाको कारणले पनि विश्व बजारमा समेत महँगी बढेकाले त्यसको असर नेपालमा देखिदै गएको छ । नेपाल आयातमा निर्भर भएको हुनाले समेत मंहगी नियन्त्रणमा बाह्य दवाब देखिन्छ । अबका दिनमा अर्थतन्त्र चलायमान बनाउने हो भने मूल्यवृद्धि नियन्त्रण नै मुख्य चुनौती हो ।

नेपालले आयातमा धेरै कडाइ गर्न सक्ने अवस्था समेत नभएको अवस्थामा अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्यबृृद्धि नियन्त्रण कठिन बन्ने देखिन्छ । अझै कोरोना महामारीको तेस्रो लहरको संकेतले आगामी दिनमा उपभोग्य सामग्रीको मूल्य आकाशिन सक्छ ।

यसरी आर्थिक गतिविधी सुस्तादै जाने र अन्तराष्ट्रिय बजारको प्रभावले मंहगी टाउको दुखाइ बन्दै छ । त्यसैले नियमक निकायले मूल्यवृद्धि नियन्त्रणका लागि बेलैमा ठोस रणनीति बनाउनुपर्छ । यदि त्यसो हुन नसके चालु आर्थिक वर्षमै दोहोरो अकंको मूल्यवृद्धिको मार खेप्न बाध्य हुनुपर्ने अवस्था आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *