आर्थिक

नेपालको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुग्ने खतरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३० गते २०:३३
नेपालको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुग्ने खतरा (भिडियो रिपोर्टसहित)

३० पुस २०७८ काठमाडौं । पछिल्ला आर्थिक तथ्याङ्कहरु हेर्दा नेपाल टाट पल्टिने अवस्थामा पुग्ने खतरा देखिन्छ । अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् ।

चालू आर्थिक वर्ष शुरु भएदेखिका सबै महिना उच्च दरले बढिरहेको शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पनि पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने रेमिट्यान्स लगातार घटिरहेको छ । यसले अर्थतन्त्र रेडजोनमा पुर्‍याएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिना अर्थात मंसिरसम्म आइपुग्दा मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर घाटा बढ्दै गएर हालसम्मकै उच्च १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत असारमा शोधनान्तर स्थिति १ अर्ब १५ करोड रुपैयाँ बचतमा थियो । विदेशी मुद्रा सञ्चिति १२ खर्ब १४ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो १३ दशमलव २ प्रतिशत कम हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । साउनदेखि लगातार घटिरहेको रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्ष ६ दशमव ८ प्रतिशत कम अर्थात ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ ।

वस्तु तथा सेवा आयात पनि पाँच महिनामै ८ खर्ब ३८ अर्ब रुपैयाँको भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ५९ दशमलव ५ प्रतिशत बढी हो । समष्टिगत आर्थिक स्थायित्वका परिसूचक निकै दबाबमा रहेका बेला आर्थिक स्थायित्व कायम गर्ने र आर्थिक क्रियाकलापलाई निरन्तरता दिनुपर्ने चुनौती थपिएको छ ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दबाब फेरि बढेकाले त्यसले अर्थतन्त्रमा अझ कत्ति प्रभाव पर्ने हो र अर्थतन्त्र कुन अवस्थामा पुर्याउने हो तत्काल अनुमान गर्न सकिने अवस्था छैन। सरकारले अब गम्भीरतापूर्वक नसोच्ने हो भने नेपाल छिट्टै टाटपल्टिने अवस्थामा पुग्ने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *