जेष्ठ नागरिक चौतारीले दिएको खुशी (भिडियो रिपोर्टसहित)
२८ पुस २०७८ सुनसरी । उमेर ढल्कँदै जाँदा जो कोहीको दैनिकी पट्यारलाग्दो हुन्छ । तर सुनसरीको इटहरीका जेष्ठ नागरिकको दैनिकी भने त्यस्तो छैन । यहाँका जेष्ठ नागरिक खुसियालीका साथ दैनिकी बिताइरहेका छन् ।
सुनसरीको इटहरी उपमहानगर कार्यालय नजिक मेची–महाकाली पोखरीको किनारमा रहेको यो चौतारीमा बिहानको १० बज्दा नबज्दै मानिसहरुको बाक्लो उपस्थिति हुन्छ ।
धेरैले उनीहरु उपमहानगरको सेवाग्राही होलान् भन्ने अनुमान गर्छन् । तर, उनीहरु सेवाग्राही नभएर इटहरी र आसपासबाट दिनहुँ आउने वृद्धवृद्धा हुन् । वृद्धवृद्धाको जमघट हुने यो चौतारीलाई जेष्ठ नागरिक चौतारी भन्ने गरिएको छ । यहाँ दैनिक ६० देखि २ सय जनासम्म जेष्ठ नागरिक जम्मा हुन्छन् ।
बुढेसकाल लागेपछि कोही आफूसँगै रहोस् भन्ने चाहना जेष्ठ नागरिकमा हुन्छ । तर घरका सबै सदस्य विभिन्न काममा रहने भएकाले समय बिताउन उनीहरुलाई मुश्किल हुने गर्दछ । यस्तो अवस्थामा ज्येष्ठ नागरिक चौतारी वृद्धवृद्धका लागि बिसौनी बनेको छ ।
२०६५ सालमा यहाँ तत्कालीन इटहरी नगरपालिकाले व्यवस्थित भवन निर्माण गरिदिएको थियो । त्योसँगै दुईवटा चौतारीलाई पनि व्यवस्थापन गरियो । सोही वर्ष जेष्ठ नागरिक समाज इटहरी नामक संस्था नै खोलेर वृद्धवृद्धाले यो चौतारीलाई साझाथलो बनाउन थाले। उपमहानगरले पनि जेष्ठ नागरिकको भावनालाई कदर गर्दै मासिक १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
जेष्ठ नागरिक चौतारी वृद्धवृद्धाको सुखुदुख साटासाट गर्ने थलो बनेको छ ।
प्रतिक्रिया