समाज

पढ्दै–कमाउँदैः विद्यालय मै च्याउ खेती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २८ गते १४:०१
पढ्दै–कमाउँदैः विद्यालय मै च्याउ खेती (भिडियो रिपोर्टसहित)

२७ पुस २०७८ धादिङ । धादिङको सत्यवती माध्यमिक विद्यालयका विद्यार्थीले कृषि विषय पढिरहेका छन । उनीहरुले कृषि विषय पढिरहेका मात्रै छैनन्, व्यवहारमै उतारेर पढाईसँगै आम्दानी पनि गरिरहेका छन् ।

कुनै व्यवसायिक च्याउ फार्म जस्तै लाग्ने यो दृश्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ स्थित आदमटारमा रहेको सत्यवती माध्यमिक विद्यालयको हो । बाली विज्ञान अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै च्याउ उत्पादन गर्न सिकाउन थालिएको छ ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले पछिल्लो दुई महिनायता विद्यालयमै च्याउन खेती गरी उत्पादित च्याउ नजिकका बजारहरुमा पठाउन शुरु गरेका छन् । च्याउलाई प्याकिङ गरी लेवल लगाएर विद्यार्थीले विक्री गरिरहेका छन् । देशमा रोजगारी नभएर धेरै युवा विदेशिरहेका बेला यी विद्यार्थी भने कृषिबाट नै केही गर्न सकिनेमा ढुक्क छन् ।

५० हजार लगानीमा शुरु गरिएको खेतीबाट करिब १ हजार ५ सय केजी च्याउ उत्पादन हुने अनुमान गरिएको छ । यसबाट करिब तीन लाख रुपैयाँ आम्दानी हुन्छ ।

फार्मबाट विद्यार्थीले प्रतिकेजी २ सय ५० र बजार पुर्‍याएर ३ सय रुपैयाँसम्ममा बेच्ने गरिएको छ । उत्पादित च्याउ बजार मूल्यभन्दा महंगोमा विक्री हुने गरेकोमा विद्यार्थीहरु दंग छन् ।

विद्यालय क्षेत्र कृषिको पकेट क्षेत्र हो । यहाँका उत्पादन धादिङका स्थानीय बजारसँगै संघीय राजधानीसम्म पुग्ने गरेको छ । पचास वर्षदेखि कृषि पेशा गरिँदै आए पनि यहाँ दक्ष जनशक्तिको भने अभाव छ । कृषि पेशामा लाग्ने दक्ष जनशक्तिको अभावकै कारण स्थानीयको आग्रह र चाहनामा बालि विज्ञान विषय अध्यापन गर्न थालिएको विद्यालयले जनाएको छ ।

च्याउ बेचेरे आएको आम्दानीले च्याउ खेतीमा लागेको लगानी कटाएर प्रोत्साहन स्वरुप विद्यार्थीले पाउने छन् । सत्यवती विद्यालयको प्रयास अन्य विद्यालय र विद्यार्थीका लागि पनि प्रेरणा हुन सक्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *