खेलकूद

टाइगर कप भलिबलको पुरुषतर्फ पुलिस क्लबसँग गण्डकी पराजित

हिमालय टिभी
२०७८ पुष २७ गते १८:४०
टाइगर कप भलिबलको पुरुषतर्फ पुलिस क्लबसँग गण्डकी पराजित

२७ पुस २०७८ काठमाडौं । साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित खुल्ला क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २५-२२ ले जितेको पुलिसले त्यसपछिका सेट २५–१८ र २५–२० ले जित्यो ।

पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–२ ले हराएको पुलिसले दोस्रो जितसँगै ५ अंक जोडेको छ । पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो ।

आर्मीले २५–१६, २२–२५, २५–१५ र २५–२१ ले जित्दै विजयी सुरुवात गरेको हो । जितसँगै आर्मीले १ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा गण्डकीसँग हारेको एपीएफको भने यो दोस्रो हार हो ।

महिलातर्फ न्यु डायमण्डले दोस्रो जित निकाल्दा आर्मीले पहिलो खेल जितेको छ । डर्बी भिडन्तमा आर्मीले एपीएफलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–१८ ले गुमाए पनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–१९, २५–२० र २५–१४ ले खेल आफ्नो पक्षमा पार्‍यो । पहिलो खेलमा न्यु डायमण्डसँग हारेको आर्मीले २ खेलबाट ३ अंक जोडेको छ ।

लगतै भएको खेलमा न्यु डायमण्डले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा हराउँदै लगातार दोस्रो जित निकालेको हो । एक पक्षीय खेलमा न्यु डायमण्डले २५–१९, २५–१३ र २५१६ को जित निकाल्यो । योसँगै न्यु डायमण्डले २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्