समाज

बाघले एक दिनको अन्तरालमै दुई महिला मारेपछि राप्ती सेनारी क्षेत्रमा यस्तो त्रास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २७ गते १६:५३
बाघले एक दिनको अन्तरालमै दुई महिला मारेपछि राप्ती सेनारी क्षेत्रमा यस्तो त्रास (भिडियो रिपोर्टसहित)

२७ पुस २०७८ बाँके । पाटे बाघको आक्रमणबाट दुई दिनको अन्तरालमा २ जना महिलाको मृत्यु भएपछि बाँकेको राप्ती सोनारी क्षेत्रमा त्रास बढेको छ । यही पुस २२ र २४ गते बाघको आक्रमणबाट महिलाले ज्यान गुमाएपछि स्थानीय बासिन्दा सडकमा हिँडडुल गर्न समेत डराउन थालेका छन् ।

बाघको आक्रमणबाट गत बिहीबार बाँकेको राप्ती सोनारी गाउँपालिकाको पर्सोना गाउँकी ५३ वर्षीया लिला विष्ट र शनिबार राप्ती सोनारीको फत्तेपुरमा २९ वर्षीया चाँदनी थारुको मृत्यु भयो । बाघको आक्रमणपछि राप्ती सोनारी त्राससँगै शोकमा परेको छ ।

बाघको आक्रमणका घटना बढ्दै गएपछि स्थानीय बासिन्दाहरु कुनै पनि बेला बाघले पुन आक्रमण गर्न सक्ने त्रासमा छन । जंगलको बाटो हुँदै विद्यालय जानु पर्ने विद्यार्थीहरु समेत बाघको आक्रमणमा पर्ने डरमा छन । अध्यारो भए पछि घरबाट बाहिर निस्कनसमेत डराउनुपर्ने अवस्था छ ।

यो वर्ष बाँके निकुञ्जमा बाघको आक्रमणबाट मानिसको मृत्यु भएको यो चौथौ घटना हो । आक्रमणपछि स्थानीय प्रशासनले मृतकका परिवारलाई भेटेर तत्कालका लागि किरिया खर्चबापत २० हजार उपलब्ध गराएको छ ।

राजमार्ग र बस्ती नजिकाको क्षेत्रमा बाघको ओहोरदोहोर बढेपछि बाँके निकुन्जले घर पालुवा दुईवटा हात्तीबाट गस्ती गर्न शुरु गरेको छ । निकुन्जका प्राविधिक र नेपाली सेनाको टोलीले नियमित रुपमा गस्ती गरि रहेका छन ।

जंगल जाँदा एक्लै नजान, रातीमा हिँडडुल नगर्न र समूहमा ओहोरदोहोर गर्न प्रशासनले स्थानीय बासिन्दालाई आग्रह गरेको छ । निकुन्ज क्षेत्रको सडकमा साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको छ । आक्रमण गर्ने बाघको पहिचान गरी नियन्त्रणमा लिन चितवनबाट राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञ प्राविधिकहरुको टोलीलाई झिकाइएको छ ।

पूर्व पश्चिम राजमार्गको करिब ७२ किलोमिटर निकुन्जसंँग जोडिएको क्षेत्रमा दुई दर्जनभन्दा धेरै गाउँहरु छन । ती गाउँका लागि बाघको व्यवस्थापन चुनौतीपूर्ण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *