खेलकूद

प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आर्मी र पुलिस क्लबको विजयी शुरुवात

हिमालय टिभी
२०७८ पुष २६ गते १३:४२
प्रधानमन्त्री कप टी–२० क्रिकेटमा आर्मी र पुलिस क्लबको विजयी शुरुवात

२६ पुस २०७८ काठमाडौं । प्रधानमन्त्री कप ट्वेन्टीट्वेन्टी क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराउँदै शान्दार शुरुवात गरेको हो । १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४ ओभर ४ बलमा ५३ रनमा अलआउट भयो ।

कर्णालीका लागि ओपनर रविन्द्रजंग शाहीले १५ र कप्तान अर्जुन घर्तीले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले ४, शुसन भारी र शाहब आलमले २र २ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रन बनाए । कर्णालीका प्रकाश जैशीले ३ र अनुज चुनाराले २ विकेट लिए ।

आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै पुलिसले पनि विजयी सुरुवात गरेको छ । ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पुरै २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्र बनायो । सुदूरपश्चिमका जगेन्द्र बोहोराले सर्वाधिक २७ रन जोडे । पुलिसको जितमा आरिफ शेखले ९ रन खर्चिँदै ४ विकेट लिए ।

यसअघि, मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनायो । पुलिसका ओपनरद्वय कुशल भुर्तेलले २१ र पवन सर्राफले २० रन बनाउँदा आरिफ शेखको नाममा १० रन रह्यो । बलिङमा सुदूरपश्चिमका नारायण जोशी र आदित्य महतले ३र३ तथा शेर मल्ले २ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्