आर्थिक

गरे के हुन्न–एकै सिजन डेढ करोडको सिमी बिक्री (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २४ गते १०:३०
गरे के हुन्न–एकै सिजन डेढ करोडको सिमी बिक्री (भिडियो रिपोर्टसहित)

२४ पुस २०७८ रुपन्देही । करेसाबारीमा समेत रासायनिक मलले स्थान बनाइरहेका बेला रुपन्देही जिल्लाको एक गाउँमा अर्गानिक तरकारी उत्पादनमा किसानहरु आकर्षित भएका छन् । एउटै सिजनमा मात्रै डेढ करोडको सिमी विक्री भएको छ । देवदह नगरपालिकाको शरनटारी गाउँमा यो सिजनमा मात्रै डेढ करोडको सिमी विक्री भएको छ ।

जिल्लाको देवदह नगरपालिका वडा नम्बर ६ मा रहेको शरनटारी गाउँ अर्गानिक तरकारी खेतीका लागि परिचित छ । तराईबाट केही उचाई र चुरे पहाडको फेदमा रहेको यो गाउँका किसानहरु अहिले अर्गानिक खेतीमा आकर्षित भएका छन् ।

धान काटेर सकिएपछि यहाँका किसानले त्यही खेतमा तरकारी लगाउने गर्छन् । यो वर्ष उनीहरुले सिमीसँगै गोलभेडा, बन्दा र काउली लगाए । अहिले सिमी विक्री भइसकेको छ ।

शरनटारी गाउँमा करिब ८० घरधुरी मगर समुदायको बसोबास छ । आफ्नो मुख्य आम्दानीको स्रोत तरकारी खेती बनाएका उनीहरुले सिंचाईका लागि कुलो प्रयोगमा ल्याएका छन् ।

प्राङ्गागरिक मल प्रयोग गरिने भएकाले उनीहरुले उत्पादन गरेको तरकारीको माग बढी छ । खेतीका लागि सहज र धेरै उत्पादन पनि हुने भएकाले उनीहरुले सिमि खेतीलाई प्राथमिकतामा राखेका छन् ।

यो गाउँका किसानले खेतीमा विषादी मलको प्रयोग नगर्ने भएकाले माटोको उर्वर शक्ति राम्रो छ । प्राङ्गागरिक मलको प्रयोगले उत्पादन र स्थानीय बजारमा पनि तरकारीको माग बढ्दो छ ।

देवदह नगरपालिकाले उक्त गाउँलाई सिमी पकेट क्षेत्र घोषणा गरको छ । तरकारी उत्पादनमा पाएको अनुदान र बजारमा उचित मूल्य पाएपछि यस क्षेत्रका किसान उत्साहित छन् । उनीहरुको उत्साहलाई बढाउन स्थानीय सरकारले बजार व्यवस्थापन र विशेष सहुलियत दिने कार्ययोजना ल्याउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *