नरेठाँटीमा सामुदायिक अन्न भकारी, के छ यसको महत्व ? (भिडियो रिपोर्टसहित)

२० पुस २०७८ बागलुङ । बागलुङको गल्कोट नगरपालिकास्थित नरेठाँटीमा परम्परागत सामुदायिक अन्न भकारी अझै पनि संचालनमा छ । भोकमरीजस्तो जटिल समस्या भोग्नु नपरोस भनेर स्थानीयकै सक्रियतामा शुरु गरिएको अन्न भकारीमार्फत अहिले पनि त्यहाँका बासिन्दा लाभान्वित छन् ।
भोकमरीले बेलाबेला समस्या दिएपछि डेढ सय वर्ष पहिले नै स्थानीयले अन्न भकारीको अवधारणा बनाएर कार्यान्वयनमा ल्याएका थिए ।
गल्कोट नगरपालिका वडा नम्बर २ नरेठाँटीको तोरीखोलामा भोकमरी जस्तो जटिल समस्या भोग्न नपरोस र अन्न अभावमा कोही भोको हुन नपरोस भन्ने उदेश्यले तोरीखोला मधुवन सिलाजित सामुदायिक अन्न भकारी निर्माण गरिएको थियो । त्यसले अहिले पनि निरन्तरता पाइरहेको छ ।
निर्माण भएको डेढ सय वर्ष पछि पनि यो भकारीबाट स्थानीयले विवाह, ब्रतबन्ध लगायतका सामाजिक कार्यमा अन्न लगेर प्रयोग गर्छन। त्यतिमात्र नभई गाउँका गरिब तथा विपन्न परिवारले अन्न नभएको समयमा यहीबाट निःशुल्क रुपमा कोदो लैजान्छन् । गाउँमा कसैको विवाह तथा अन्य समारोह परेको समयमा पनि सामुदायिक भकारीबाटै कोदो लगेर रक्सी पार्ने गरिन्छ ।
भकारीमा पहिले एक पाथी कोदोको दुई माना कोदो ब्याज तिर्नुपर्ने चलन थियो । अहिले भने एक पाथी कोदोको एक माना कोदो ब्याज तिर्नुपर्ने नियम बनाइएको छ । त्यहाँ संचालनमा रहेको होमस्टेले पनि भकारी संरक्षणमा सहयोग गरिरहेको छ । धेरै अघि निर्माण गरिएको भकारीको अझै पनि औचित्य उत्तिकै रहेको स्थानीय बुढापाका बताउछन् ।
अहिले पनि भकारीमा ५० मुरी कोदो मौज्दात छ । आवश्यक परेको खण्डमा भकारी समितिको समन्वयमा जुनसुकै बेला कोदो लैजान पाइन्छ । अन्न भकारी स्थानीयका लागि बरदान सावित हुँदा त्यसको संरक्षणमा स्थानीय पनि प्रतिबद्ध छन् ।
प्रतिक्रिया