आर्थिक

नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घट्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष २० गते ८:३०
नेपाल आउने पर्यटकको संख्या ह्वात्तै घट्यो (भिडियो रिपोर्टसहित)

२० पुस २०७८ काठमाडौं । सन् २०२१ मा १ लाख ५० हजार विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो संख्या सन् २०२० को वार्षिक तुलनामा ३४ प्रतिशत कम हो ।

कोरोना महामारीको प्रभाव कम हुनु र यात्रा प्रतिवन्ध खुकुलो बन्दै जाँदा पनि नेपालमा आउने पर्यटकको संख्या २०२१ मा खासै बढ्न सकेन । अझ पछिल्लो समय ओमिक्रोनको त्रास बढ्दै गएकाले सन् २०२२ मा पर्यटक आगमन थप प्रभावित हुने चिन्तामा व्यवसायी छन् ।

विश्वभरि कोरोना महामारी फैलिन कम हुँदै गए पनि सन् २०२१ मा नेपालमा विदेशी पर्यटकको आगमन सन् २०२० को तुलनामा करिब ८० हजार कम आए । सन् २०२१ मा विभिन्न देशबाट १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल भ्रमणमा आए । कोरोना महामारीकैबीच सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।

सन् २०२१ सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । भारतबाट ६४ हजार ६ सय ७३ पर्यटक नेपाल आएका छन् । यस्तै दोस्रोमा अमेरिकाबाट २२ हजार ८ सय ५३ जना पर्यटक नेपाल आएका छन् ।

केही समय अघिदेखि विश्वभर भ्याक्सिनेसन कार्यक्रमसँगै संक्रमण दर कम हुँदा घुम्न निस्कनेको संख्या बढिरहे पनि फेरि नयाँ भेरियन्टको संक्रमण सुरु भएपछि पर्यटकहरुले बुकिङ्ग रद्ध गर्न थालेका छन् । जसका कारण सन् २०२२ पनि पर्यटक आगमन सुखद् नरहने हो की भन्ने चिन्ता व्यवसायीमा छ ।

महामारीकै बीचमा सन् २०२० मा विश्वभरि ३५ देखि ४० करोड मानिस घुम्न निस्किएका थिए । सन् २०२१ मा यो संख्या बढेर झन्डै ६० करोड पुगेको छ । त्यसले गर्दा सन् २०२२ मा पर्यटक आगमन २० देखि ३० प्रतिशतले बढ्ने अनुमान बोर्डको छ।

कोरोना सुरु हुनुअघि सन् २०१९ मै पनि नेपालमा ११ लाख ९७ हजार विदेशी पर्यटक भ्रमणका लागि आएका थिए । तर कोरोनाको विभिन्न लहरका कारण यही लयमा फर्कन अझै कयौँ वर्ष लाग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *