खेलकूद

मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

हिमालय टिभी
२०७८ पुष १८ गते १९:४२
मछिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने

१८ पुस २०७८ काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको साविक विजेता मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ ।

नेपाल पुलिस क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा सुनिल बल नायक बने । उनले खेलको २१औँ मिनेटमा निर्णायक गोल गरेका थिए । बलले विशाल राईको फ्री–किकमा हेडमार्फत गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने तय गरेको हो । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातौँ चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउने प्रस्तावलाई एसियाली फुटबल महासङ्घ (एएफसी)ले स्वीकार गरेको थियो । त्यसैअनुरुप मछिन्द्र छनोट भएको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्न पाएको थिएन् । गत वर्ष नेपाली सेनाको आर्मी फुटबल क्लबले सो छनोट खेलेको थियो ।

जितपछि मछिन्द्रले सात खेलमा १७ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अङ्कका साथ दोस्रो स्थानमा छ । सात खेल नै खेलेको पुलिस ६ अङ्कका साथ ११औँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्