समाज

सडक खाना महोत्सवको रमझम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १७ गते २०:५४
सडक खाना महोत्सवको रमझम (भिडियो रिपोर्टसहित)

१७ पुस २०७८ बुटवल । पर्यटकबाट लाभ लिन उनीहरुको बसाइ अवधि लम्ब्याउन जरुरी छ । सेवा र मनोरञ्जनका कार्यक्रमले पाहुुनाको बसाइ लम्बिन्छ । पछिल्लो समय विभिन्न अवसर पारेर लुम्बिनीका पर्यटन व्यवसायीले यस्ता कार्यक्रम आयोजना गर्न थालेका छन् ।

रात छिप्पिदै थियो, जाडो बढ्दै जाँदा लुम्बिनी भने तातिरहेको थियो । शुक्रबार साँझ परेपछि रुपन्देहीको लुम्बिनी क्षेत्रको सडकमा पर्यटकहरु विभिन्न परिकारहरुको स्वाद लिँदै, नाच्दै, गाउँदै, रमाउँदै थिए ।

सडक महोत्सवमा लुम्बिनीमा रहेका तारे होटलका परिकारदेखि बौद्धकालीन काला नमक र टिन्नी चामलको खाना, इम्रिति, पेडा, थाई मिठाईका परिकारले सजिए । महोत्सवमा पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, चुकौनी, नामी मिठाइले पनि ठाउँ पाए । त्यत्तिमात्रै हैन पर्यटकले सांस्कृतिक बाजागाजा र नाचको पनि मज्जा लिए ।

लुम्बिनीमा अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सडक खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा आन्तरिक पर्यटकहरु सडक मै रमाए ।

लुम्बिनी होटल संघ नेपालले सडक खाना महोत्सवको आयोजना गरेको हो । संघले प्रत्येक वर्ष लुम्बिनीमा आउने पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्दै आएको छ । तर कोरोना भाइरस संक्रमणले गर्दा २ वर्षसम्म महोत्सव हुन पाएन ।

कोरोनाले थला परेको होटल तथा पर्यटन व्यवसायलाई महोत्सवले थोरै भए पनि राहत दिएको छ ।

पछिल्लो समयमा आन्तरिक तथा भारतीय पर्यटकको संख्या लुम्बिनीमा बढ्दै जाँदा व्यवसाय पनि चलायमान हुँदै गएको छ । दुई वर्ष कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय उकास्न यस्ता कार्यक्रम सहयोगी हुन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *