समाज

बटौलीमा लालपुर्जा बाँड्न किन लाग्यो नापी भएको पचास वर्ष ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १६ गते १६:१३
बटौलीमा लालपुर्जा बाँड्न किन लाग्यो नापी भएको पचास वर्ष ? (भिडियो रिपोर्टसहित)

१६ पुस २०७८ बुटवल । नापी भएको आधा शताब्दीमा रुपन्देहीको बटौंली बजारमा बल्ल लालपुर्जा वितरण भएको छ । २०२७ सालमा नापी भएको बुटवल वडा नम्बर २ भीमसेन टोलका जग्गाधनीले जग्गाको प्रमाणपुर्जा पाएका हुन । नापी भएको ५१ वर्षमा लालपुर्जा हातमा पाउँदा जग्गाधनी हर्षित छन् ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्दछ, रुपन्देहीको ऐतिहासिक बटौंली बजार । बटौंलीमा २०२७ सालमा नापी गरिएको जग्गाको जग्गाधनी प्रमाणपत्र बल्ल दिन थालिएको छ । तत्कालिन अवस्थामा नापी गर्दा प्रविधि कम हुन्थ्यो ,गाउँबस्तीकै एकै पटक नापी लिइन्थ्यो ।

यसलाई गाउँ ब्लक भनिन्छ । त्यही जग्गाको जग्गा धनी छुट्टाएर नापी कार्यालयले लालपुर्जा दिन शुरु गरेको हो । पहिलो चरणमा ३५ जग्गा धनीले लालपुर्जा पाएका छन् । ७१ जनाले अझै पाउन बाँकी छ । नापी भएको ५१ वर्षपछि लालपुर्जा पाउँदा जग्गाधनी दंग छन् ।

राजनीतिक अवरोधले लालपूर्जा पाउन ढिलाइ भएको जग्गाधनीको बुझाइ छ ।

नापी कार्यालय रुपन्देहीले पुरानो शहरी ब्लकभित्रको बस्तीलाई नयाँ निर्देशिका जारी गरेर लालपुर्जा वितरण गरेको हो । गाउँ ब्लकसँग जोडिएको सार्वजनिक जग्गाले गर्दा शुरुमा नाप्न अप्ठेरो भएकाले नयाँ निर्देशिका ल्याएर गाउँ ब्लकको जग्गा छुट्टाएर काम शुरु गरिएको नापी कार्यालयले जनाएको छ । जिल्लामा अझै १२ सय ५० गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गर्न बाँकी छ ।

नापी कार्यालय रुपन्देहीले चालु आर्थिक वर्षमा १५ सय गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिसकेको छ । २ वर्ष भित्रमा सबै गाउँब्लक जग्गाको लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य छ ।

नापी भएका जग्गाको विवाद , सार्वजनिक जग्गाबीचमा पर्दा र नापी कार्यालयमा कर्मचारी अभाव जस्ता कारणले लालपुर्जा वितरणमा ढिलाई हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *