समाज

प्रदेशको स्थायी राजधानी ‘देउखुरी’ घोषणामै सीमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते १७:४९
प्रदेशको स्थायी राजधानी ‘देउखुरी’ घोषणामै सीमित (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ बुटवल । देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अझैं मन्त्रालयहरु सर्न सकेका छैनन । बरु मन्त्रालय थप्दै बुटवलमा रहेका सरकारी तथा संघसंस्थाका कार्यालयमा मन्त्रालय सार्ने मात्र काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय बुटवलको यो भवनमा अहिले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय छ । माथिल्लो तलामा सडक डिभिजनको कार्यालय छ, भने तल्लो तलामा श्रम मन्त्रालय छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय पनि यही भवनमा सार्ने तयारी भइरहेको छ ।

सडक डिभिजन कार्यालय प्रयोजनका लागि भनेर भवन निर्माण गरिएको थियो । तर भवन सडक डिभिजन कार्यालयलाई हस्तानान्तरण हुन नपाउँदै प्रदेश सरकारका मन्त्रालयहरु यो भवनमा सर्न थालेका छन् ।

सडक डिभिजन कार्यालयको भवन मात्र होइन बुटवलमा रहेका अन्य सरकारी तथा संघसंस्थाका भवनहरुमा पनि यसै गरी मन्त्रालय राखिएको छ ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवललाई तोकेपछि यहाँ रहेका सरकारी र संघसंस्थाका कार्यालयहरुमा प्रदेश सरकारका मन्त्रालयहरु राख्न थालिएको हो । लुम्बिनी प्रदेशमा अहिले चार राज्यमन्त्रीसहित १७ मन्त्री छन् ।

लुम्बिनीका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सत्ता जोगाउन शुरु गरेको मन्त्रालय विभाजनलाई वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीले पनि कायमै राख्नुभएको छ ।

अहिले प्रदेशमा १३ वटा मन्त्रालय छन । जसका कारण बुटवलमा रहेका सरकारी कार्यालय र संघसंस्थाका कार्यालयमा मन्त्रालय सर्दै जाँदा अरु कार्यालय भने खुम्चिदै गएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *