समाज

संग्रहालयमा सामग्री संकलनमा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते १७:४१
संग्रहालयमा सामग्री संकलनमा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको एक मात्र संग्रहालयमा प्राविधिक कर्मचारी नहुँदा सामग्री संकलनमा समस्या भएको छ ।

प्रदर्शनयोग्य तथा पर्यटकीय आकर्षणका वस्तु र आवश्यक जनशक्तिको अभाव संग्रहालयले झेल्दै आएको छ । यसका साथै उचित प्रचारप्रसार नहुँदा सीमित आन्तरिक पर्यटकले मात्र संग्रहालयको अवलोकन गर्दै आएका छन् ।

कर्णालीको कला, संस्कृति र इतिहासलाई प्राथमिकता दिएर प्रदेश संग्रहालय तथा अभिलेखालयमा मौलिक पहिचान झल्काउने सामग्री, तस्विर, पोशाक, विभिन्न ऐतिहासिक वस्तुलाई प्राथमिकता दिइएको छ ।

संग्रहालयमा पुराना तथा लोप भइसकेका भेषभूषा, गरगहना, भाँडाकुडा, पानीघडी, ढिकी लगायतका सामग्री छन । मगर, थारु, राउटे, कुमाल, लामा जातिका समुदायको कला, संस्कृति झल्काउने सामग्री पनि यहाँ प्रदर्शनीमा राखिएको छ । तर अहिले प्राविधिक कर्मचारीको अभावमा कर्णालीको मौलिकता झल्कने सामग्रीको संकलनमा समस्या भएको छ ।

संग्रहालयमा प्रदर्शनी कक्षको समेत अभाव छ । गत आर्थिक बर्षमा नयाँ भवन निर्माणका लागि करिव १ करोडमा प्रदेश सरकारले ठेक्का सम्झौता गरेको थियो ।

यही मंसिरमा निर्माण सम्पन्न गर्नुपर्ने भवन निर्माण प्रक्रियामै छ । काठमाडौंको विल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको टेण्डर निर्धारित समयमा सम्पन्न नभएपछि प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार यही चैतसम्म म्याद थप गरिएको छ ।

प्रदेश सरकारले प्रदेशकै अभिलेखालयका रुपमा संग्रहालयलाई विकास गर्ने निर्णय गरेको हो । तर त्यस अनुसार जनशक्ति व्यवस्थापन अगाडि नबढेकाले कार्यान्वयनमा आउन सकेको छैन ।

२०५७ साल साउन २ गतेबाट संग्रहालय सञ्चालनमा आएको हो । २०७५ असोज ५ गतेबाट प्रादेशिक संग्रहालय तथा अभिलेखालय कर्णाली प्रदेश मातहत ल्याइएपछि थप व्यवस्थित र विस्तार गर्ने निर्णय भएपनि कार्यन्वयनको पाटो भने सुस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *