समाज

नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सवको भव्य तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते १६:१३
नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सवको भव्य तयारी (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड यतिबेला ठुलाठुला स्वागत गेट, रंगीचंगी ध्वजापतका र तुल व्यानरले सजिएको छ । रात्रीकालीन समयमा बत्तीको झिलीमिलीले अझै रमाइलो माहोल बनाएको छ । अंग्रजी नयाँ वर्षको अवसर पारेर अयोजना गरिने सडक महोत्सवका लागि लेकसाइड सजिएको सिगारिएको हो ।

पर्यटन क्षेत्रका लागि मात्र हैन सम्पूर्ण पोखरेलीका लागि नयाँ वर्ष उत्सव बन्ने गरेको छ । नयाँ वर्षको अवसर पारी धेरै पर्यटक पोखरा घुम्न आउँछन् ।

तीनै पर्यटकका लागि रमाइलो माहोल बनाउन रेष्टुरेन्ट एण्ड बार एसोशिएशन रेवान पोखराले महोत्सवको आयोजना गर्ने गर्छ । यो वर्ष २३ औँ संस्करणको सडक महोत्सव डिसेम्बर ३०, ३१ र २०२२ को जनवरी एक तारिखमा हुँदैछ । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ महोत्सव संचालन हुँदै आएको छ ।

गत वर्ष पनि कोरोना संक्रमण कम हुँदै गएको र लकडाउन हटेको समय परेकाले सन् २०२१ लाई स्वागत गर्न भिडभाड हुने वाहेकका कार्यक्रम गरेर सडक महोत्सव गरिएको थियो ।

यस वर्ष पनि सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुनेछ । अंग्रेजी नयाँ बर्षकै सन्दर्भ पारेर पोखरा आउने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ ।

महोत्सवको तयारी भइरहँदा लेकसाइड झिलीमिली बनेको छ । महोत्सवको तयारीले पनि पोखरा घुम्न आउने पर्यटकलाई पोखरा खुल्लै छ भन्ने सन्देश दिन सफल भएको छ ।

पर्यटकलाई लक्षित गरि आयोजना हुने कार्यक्रमले पर्यटन क्षेत्र चलायमान हुने र कोरोनाका कारण थलिएको पर्यटन बजार पुन गुल्जार हुने पर्यटन व्यवसायीको अपेक्षा छ ।

अन्तर्राष्ट्रिय स्तरका खाजा र खानाका परिकार, गण्डकी प्रदेशका ११ वटै जिल्लाको संस्कृति र युवापुस्ता लक्षित कन्सर्ट महोत्सवका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेश घुम्न आउने पर्यटकलाई महोत्सवले ३ दिन फेवा किनारमा तान्ने छ भने सुस्ताएको पर्यटन बजारलाई थप उचाइमा पुर्याउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *