समाज

बेमौसमी वर्षा पीडित किसानले अझै पाएनन् राहत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १२ गते १८:२९
बेमौसमी वर्षा पीडित किसानले अझै पाएनन् राहत (भिडियो रिपोर्टसहित)

१२ पुस २०७८ सुर्खेत । बेमौसमी वर्षाका कारण पीडित सुर्खेतका किसानले अझै राहत पाउन सकेका छैनन् । तर राहत पाउने किसानको आश भने अझै उस्तै छ।

गत कात्तिक पहिलो साता परेको अविरल वर्षाका कारण धान बालीमा पुगेको क्षतिको विवरण संकलन गरी संघीय र प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

वडा कार्यालय, स्थानीय पालिका, प्रदेश निर्देशनालय, मन्त्रालय हुँदै क्षतिको विवरण संघीय मन्त्रालयमा गइ सके पनि किसानलाई राहत कहिले दिने भन्ने टुंगो छैन । सरकारको निर्णय कार्यान्वयनमा ढिलासुस्ती भएकोमा किसान चिन्तित छन् ।

कृषि विकास निर्देशनालयले जिल्लाबाट उपलब्ध विवरण प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाएको छ । आठ जिल्लामा धान नोक्सानी भएको तथ्याङ्क संकलन भएको छ । तर राहत नपाएपछि किसान भने मर्कामा छन् । बर्षभरी पुग्ने अन्न त गुम्यो नै ऋण वापत लिएको पैसा समेत तिर्न नपाउँदा साहुले ताकेता गर्न थालेको किसानको गुनासो छ ।

किसानले काटेको करिव ९० प्रतिशत धान क्षति भएकाले राहत प्रक्रिया छिटो टुङ्गिनु पर्नेमा स्थानीय जनप्रतिनिधिको पनि जोड छ ।

कर्णालीमा ३८ हजार पाँच सय २७ हेक्टर क्षेत्रफलमा धान खेती हुुँदै आएको छ । प्रदेशमा सरदर ८९ हजार मेट्रिक टन धान उत्पादन हुुन्छ । यसपटक बेमौसमी वर्षाले प्रदेशमा १२ प्रतिशत धान बालीमा नोक्सानी पुगेको निर्देशनालयको तथ्याङ्क छ । धानसँगै अन्य बालीमा गरी त्यतिबेला ४२ करोड ५४ लाख ७४ हजार बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *