समाज

ढोरपाटन शिकार आरक्ष : शिकारसँगै रमणीय पर्यटकीय गन्तव्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १२ गते १८:२०
ढोरपाटन शिकार आरक्ष : शिकारसँगै रमणीय पर्यटकीय गन्तव्य (भिडियो रिपोर्टसहित)

१२ पुस २०७८ बागलुङ । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको मुख्य विशेषता भनेकै आधिकारिक रुपमै शिकार खेल्न पाउनु हो । बागलुङ, म्याग्दी र पूर्वी रुकुम तीन जिल्लाले आफ्नो सम्पतिका रुपमा चिनाउने गरेको ढोरपाटन शिकार आरक्ष पछिल्लो समय शिकारका लागि मात्रै नभएर रमणीय पर्यटकीय गन्तब्य बन्न थालेको छ ।

विश्वसामू नेपालकै शानका रुपमा परिचित ढोरपाटन शिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्छ । विक्रम संवत २०४० सालमा स्थापित शिकार आरक्षले स्थापनाको ४ वर्षपछि सरकारी मान्यता पायो । अनि शिकार खेल्न पाउने गरी खुल्ला भयो । विश्वभरबाट लाइसेन्स प्राप्त शिकारीहरु आरक्ष क्षेत्रमा आउने गरेका छन् । पछिल्ला वर्षहरुमा ढोरपाटनमा पर्यटकहरु घुम्नको लागि पनि पुग्ने गरेका छन् ।

एक हजार तीन सय २५ वर्ग किलोमिटर भू–भाग ओगटेको ढोरपाटन– शिकार, घुम्नका लागि मात्र नभई जडिबुटीका लागि पनि प्रख्यात छ । ढोरपाटन क्षेत्रमा यार्सागुम्बा, जटामसी, चिराइतो, पाँचऔँले लगायतका जडिबुटी पाइन्छन् । घोडा चढेर ढोरपाटन क्षेत्र घुम्न पाउनु अर्को आकर्षण हो । ढोरपाटनमा बेलाबेला लाग्ने मेलाले धार्मिक पर्यटकलाई पनि तान्ने गरेको छ ।

कोरोना महामारीको समयमा बाह्य पर्यटक कम पुगे पनि आन्तरिक पर्यटकको संख्यामा कमी नआएको आरक्ष कार्यालयले जनाएको छ । संचार, विद्युत, सडक लगायतका पूर्वाधारको विकास गर्न सकेमा पर्यटकको शिकार आरक्षसँगै समग्र ढोरपाटन क्षेत्रलाई घुम्नका लागि अझ उत्कृष्ट गन्तव्य बनाउन सकिने ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।

ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति, ३२ थरीका स्तनधारी वन्यजन्तु तथा १ सय ६४ प्रजातीका चराचुरुङ्गी पाइन्छन् । उत्तरतर्फ बग्ने उत्तरगंगा नदी पनि ढोरपाटनमै पर्दछ । अथाह सम्भावना भएको ढोरपाटनले उचित प्रचार र विकास गर्न सके पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *