समाज

चर्चामा शंखे पहरो, प्वालमा फुक्दा निस्कन्छ शंखको ध्वनि (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १० गते १६:३५
चर्चामा शंखे पहरो, प्वालमा फुक्दा निस्कन्छ शंखको ध्वनि (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ५ को रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउने गरी काम थालेपछि शंखे पहरो चर्चामा आएको छ । पहिले–पहिले शंखे ओढार भनेर चिनिने पहरामा रहेका प्वालमा फुक्दा शंखको झैँ ध्वनि निस्कन्छ ।

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेको रिठेडाँडामा एउटा पहरो छ । यो पहरो सामान्य पहरो भने होइन । सो पहरोमा मुखले फुकेर शंख बजाउने गरिएको छ ।

समुद्र सतहदेखि १३ सय मिटरको उचाइमा रहेको रिठ्ठेडाँडालाई स्थानीयले पर्यटकीय सम्भावना देखेर भौतिक संरचना तथा पदमार्ग निर्माण गर्दा डाँडा नजिकै रहेको पहरोबाट शंख बज्ने पुष्टि भएको हो ।

स्थानीय बासिन्दाले पहिलेदेखिनै यो पहरोमा शंख बज्छ भन्ने सुनेका थिए । भीरमा भएकाले कसैले पनि शंख बजाउने आँट गरेका थिएनन् । पछि त्यो ठाउँमा जाने अस्थायी बाटो निर्माण भएपछि केही युवाले पहरोमै गएर बजाउँदा आवाज निस्किएको हो ।

बाहिरबाट जाने आगन्तुकले पनि प्वालमा मुख जोडेर बजाउने प्रयास गर्छन् । कतिले त जेनतेत मधुरो भए पनि आवाज निकाल्छन् । शङ्खे पहराको नाम चल्न थालेपछि अहिले त्यहाँ फाट्टफुट्ट आन्तरिक पर्यटक पुग्न थालेका छन् । शंख बज्ने पहरा भनेपछि जिज्ञासा लिएर मानिसहरू पुग्न थालेका हुन् ।

अहिले भएको बाटो साँघुरो छ । भिरालो क्षेत्र भएकाले सुरक्षित पदमार्गको खाँचो छ । रिठेडाँडाको पर्यटन विकासका लागि चालु आर्थिक वर्ष पर्यटन मन्त्रालयको नौ लाख र नगरपालिकाले एक लाख रुपैयाँ बजेट छुट्याएको छ । शंखे पहरोलाई विश्वभर चिनाउनको लागि स्थानिय युवा एकजुट भएका छन् । यस्ता ठाउँलाई देशविदेशमा प्रचारप्रसार गरि प्रशस्त लाभ लिन सकिने व्यवसायीको विश्वास छ ।

दशकौँदेखि ओझेलमा परेको रिठडाँडाको भौतिक र पर्यटन विकासबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्ने स्थानीयबासीन्दाको योजना छ । यसमा सरोकारवाला सबैले सघाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *