समाज

बाघ सर्वेक्षणको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १० गते १५:२०
बाघ सर्वेक्षणको काम अन्तिम चरणमा (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ चितवन । चितवनबाट शुरु भएको बाघ सर्वेक्षणको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा तीन चरणमा बाघ सर्वेक्षण हुँदैछ ।

यी दुई निकुञ्जबाहेक बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा पनि बाघको सर्वेक्षण गरिँदैछ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको त्रिवेणी, सौराहा र वरण्डाभार क्षेत्रमा २ सय ८७ जोडी ट्रयापिङ क्यामेरा जडान गरी बाघको फोटो खिची सर्बेक्षण भइरहेको छ ।

१३ वटा क्याम्प खडा गरेर क्यामेराको निगरानी तथा फोटो संकलन भैरहेको छ । बाघ ओहोरदोहोर गर्ने क्षेत्रका दुईतर्फ राखिएका क्यामेराले बाघ वा अन्य जनावर नजिकै आउँदा स्वचालित फोटो खिच्नेछ ।

ट्रयापिङ क्यामेराले खिचेका सबै फोटो संकलन गरी सफ्टवेयरमार्फत बाघको संख्या विश्लेषण गरिन्छ । बाघको पाटा (धर्सा) अनुसार छुट्टाएर संख्या निर्धारण हुनेछ ।

हरेक बाघको पाटा फरक फरक हुने भएकाले बाघको शरीर र कुनै अंग फोटोमा देखिए सोही अनुसार संख्या यकिन गरिनेछ । करिब १ महिनामा बाघको संख्या विश्लेष्ण कार्य पूरा हुनेछ ।

चितवन–पर्सा कम्प्लेक्सको दोस्रो चरणमा व्लक टुअन्तर्गत सौराहा, दक्षिणतर्फको ठोरी र पर्सा निकुञ्जको केही भागमा पुस ११ देखि ३ सय १० जोडी क्यामेरा राखेर सर्वेक्षण गरिनेछ ।

यस्तै तेस्रो चरणमा पर्सा निकुञ्ज र आसपासको जंगल क्षेत्रमा माघ २ गतेदेखि २ सय ८६ जोडी क्यामेरा राखेर सर्वेक्षण थालिनेछ । पहिलो चरणको सर्वेक्षणको काम पुस १० गते सकिने र त्यसपछि सबै क्यामेरा व्लक टुमा जडान गरिनेछन्।

नेपालमा सन २००९ देखि बाघ सर्वेक्षण शुरु गरिएको हो । त्यसबेला नेपालमा १२१ वटा बाघ थिए । सन २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २३५ वटा भेटियो ।

सरकारले सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २५० वटा पु¥याउने प्रतिवद्धता जनाएको थियो । त्यो लक्ष्य पूरा हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *