बजेट अभावमा रोकियो सिटी हल निर्माण कार्य (भिडियो रिपोर्टसहित)

१० पुस २०७८ सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा निर्माणाधीन सिटी हलको दोस्रो चरणको काम शुरू हुन सकेको छैन । प्रदेशकै ठूलो सभाहल निर्माणमा बजेट अपुग भएपछि संरचना निर्माण काम रोकिएको छ ।
सुर्खेत वीरेन्द्रनगर–६ वुद्धपथमा निर्माण भइरहेको सिटी हलको पहिलो चरणको काम सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्माणको काम २३ करोडको लागतमा सम्पन्न गरिएको हो । जसअन्तर्गत बहुउद्देश्यीय सभाहल, बैठक कक्ष र पर्खाल निर्माणका काम भएका हुन् ।
सात सय ८० जना क्षमताको सभाहल, डेढडेढ सय जना अट्ने क्षमताका दुुई वटा बैठक कक्ष र सभाहल क्षेत्र घेरबार गरिएको छ । यो चरणका संरचना निर्माण गर्न २०७३ चैत २४ मा निर्माण कम्पनी समानान्तर, चक्रेश्वरी, शिवशक्ति जेभीसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले पहिलो चरणको काम सम्पन्न गरे पनि दोस्रो चरणको काम कहिले सक्ने भन्ने एकिन छैन ।
दोस्रो चरणको कामका लागि करिब ६ करोड रकम लाग्ने अनुमान गरिएको छ । प्राविधिक अनुमान अनुसारको रकम माग गरी टेन्डर प्रक्रिया शुरु गर्न लागिएको छ ।
प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा ठूला कार्यक्रम सञ्चालन गर्न आवश्यक सभाहल छैनन् । सार्वजनिक सभा तथा सम्मेलनका लागि सहज होस् भन्ने उद्देश्यले बनाउन लागिएको सिटी हल प्रदेशकै गौरवको योजना हो । अब तत्काल टेण्डर गरेर दोस्रो चरणको काम अघि बढाइने संघीय आयोजनाको दाबी छ ।
निर्माणाधीन सिटी हलमा दोस्रो चरणमा पार्किङ, भुइँमा ब्लक बिछ्याउने, हलहरूमा कुर्सी राख्ने, बगैंचा बनाउने लगायत काम हुनेछ । कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र पहिलो सुविधासम्पन्न सभाहल साढे तीन बिगाहा जमिनमा निर्माण भइरहेको छ ।
प्रतिक्रिया