समाज

सरकार खाेज्दै कोहलपुर नगरपालिका कार्यालयमा पुगे बाँकेका छात्रा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ९ गते २०:३८
सरकार खाेज्दै कोहलपुर नगरपालिका कार्यालयमा पुगे बाँकेका छात्रा (भिडियो रिपोर्टसहित)

९ पुस २०७८ बाँके । देश संघीयतामा गएसँगै शिक्षाको अधिकार स्थानीय तहमा गएको छ । तर स्थानीय तहले आफ्नो अधिकारलाई उचित प्रयोग गरेको पाइँदैन् । नयाँ कार्यक्रम लिएर विद्यालयमा पुग्ने स्थानीय सरकार यसको प्रभावकारिताबारे बेखबर हुँदा विद्यार्थी आफै स्थानीय सरकारलाई समस्या राख्न गएका छन् ।

स्थानीय सरकारले विद्यालयलाई निःशुल्क सेनेटरी प्याड त दियो तर यसको प्रभावकारिताबारे भने चासो देखाएन । विभिन्न समस्या लिएर बाँकेको कोहलपुर नगरपालिका पुगेका विद्यार्थीले यही विषयमा गुनासो राखे ।

उपलब्ध गराइएको सेनेटरी प्याडको गुणस्तर राम्रो नभएको, छात्रामैत्री शौचालय नभएको, शौचालयमा पानीको व्यवस्था नभएको र प्रयोग भएको सेनेटरी प्याड विसर्जनको व्यवस्था नभएको भन्दै कोहलपुर क्षेत्रका सामुदायिक विद्यालयका छात्राहरुले नगरपालिकाको ध्यानाकर्षण गराए ।

छात्राहरुले उठाएको सेनेटरी प्याड र शौचालयको समस्या समाधान गर्ने नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।

शिक्षकले कक्षा कोठामा गलत शब्द प्रयोग गरी होच्याउने गरेको जस्ता गलत व्यवहारबारे पनि छात्राहरुले नगरपालिकाका मेयरको ध्यानाकर्षण गराए । विद्यालय जाँदा बाटोमा प्रहरी बिट नजिकै समूह बनाएर केटाहरुले जिस्काउँदा समेत प्रहरी रमिते बन्ने गरेको छात्राहरुको अर्को गुनासो छ ।

असुरक्षित महसुस भएको अवस्थामा प्रहरीलाई भेटेर जानकारी दिन वा पैसा नलाग्ने फोन नम्बर १०० मा खबर गर्न प्रहरीले छात्राहरुलाई आग्रह गरेको छ ।

मधेशी समुदायका अझै पनि बालविवाह गर्ने चलन कायम रहेकाले धेरै किशोरीको बाल विवाह भइ पढाइ छाड्ने गरेको भन्दै बालविवाह नियन्त्रण गर्न नगरपालिका र प्रहरीले के कस्तो प्रयास गरिरहेको छ भनेर छात्राहरुले नगरपालिका र प्रहरीसँग जिज्ञासा राखे ।

जनप्रनिधि र प्रहरीसँगको अन्तरक्रिया कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुले आफ्ना चासो र सरोकारका विषयमा बोल्ने मौका पाए । यसले उनीहरुलाई आफ्नो समस्या निर्धक्क राख्न सक्ने बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *