धनगढीमा प्लास्टिकमाथिको प्रतिबन्धको निर्णय अझै भएन कार्यान्वयन (भिडियो रिपोर्टसहित)
९ पुस २०७८ धनगढी । प्लास्टिक प्रतिबन्ध गर्ने धनगढी उपमहानगरपालिकाको निर्णय दुई वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । धनगढीस्थित त्रिनगर कृषि उपज हाट बजारबाट अभियानकै रुपमा प्लास्टिक प्रतिबन्ध गर्ने कार्यक्रम थालिए पनि अझै कार्यान्वयनमा आउन नसकेको हो ।
धनगढी उपमहानगरपालिकाले प्लाष्टिक प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गर्यो। प्लाष्टिक र अन्य फोहर जथाभावी फाल्न पनि रोक लगायो । तर आफैंले गरेको निर्णय कार्यान्वयन गर्न उपमहानगरपालिका असफल हुँदा सडक वरिपरि फोहरमैला बढेको छ भने खोलानालामा फोहर थुप्रिँदै गएको छ । यसले वातावरण नै प्रदूषित भएको छ ।
उपमहानगरपालिकाले निर्णय कार्वान्यन नगर्नेलाई फोहरमैला ब्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको थियो ।
ऐन विपरीत काम गरेमा १ लाख जरिवाना वा ३ महिना जेल दुबै सजाय हुनसक्ने ब्यवस्था छ । निर्णय गर्ने तर कार्यान्वयनमा चासो नदिने उपमहानगरपालिकाको चालाले स्थानीय बासिन्दा वाक्क भएका छन् ।
धनगढीस्थित त्रिनगर कृषि उपज हाट बजार व्यवस्थापन समिति भने प्लाष्टिक प्रतिबन्ध अभियान कार्यान्वयन नहुनुमा प्लास्टिक कम्पनीहरुकै दोष देख्छ । प्लास्टिकका झोलाहरु उत्पादन भइरहेका कारण प्रतिबन्धमा समस्या भएको उसको तर्क छ ।
धनगढी उपमहानगरपालिका भने कोरोनाका कारण निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्छ ।
विकल्पको रुपमा अघि सारिएको कपडाको झोला महंगो हुनाले पनि उपभोक्ताहरुले प्लास्टिकको झोला नै प्रयोग गर्ने गरेका छन् ।
प्लास्टिक प्रतिबन्ध गर्ने उपमहानगरपालिकाको निर्णय कार्यान्वयनका लागि उपमहानगर स्वय् चनाखो हुन त पर्छ नै व्यापारी र उपभोक्तासमेत सचेत हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया