समाज

विषादी परीक्षण प्रयोगशाला सरकारकै कारण दुई वर्षदेखि बन्द (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ९ गते १७:१६
विषादी परीक्षण प्रयोगशाला सरकारकै कारण दुई वर्षदेखि बन्द (भिडियो रिपोर्टसहित)

९ पुस २०७८ पोखरा । पोखरा कृषि उपज थोक बजार केन्द्रमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला)को कार्यालय २ वर्ष देखि खुलेको छैन । परीक्षण गर्ने मेसिन नै संघीय सरकारले उठाएर लगेपछि कार्यालय बन्द भएको हो ।

बजारमा विषादीयुक्त वस्तुको विक्री बढिरहेको गुनासो आइरहेका बेला सरकारले भने प्रयोगशाला बन्द गरेर आम उपभोक्ताप्रति गैरजिम्मेवार बनेको छ ।

पोखरा कृषि उपज थोकबजार केन्द्रभित्रै रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाइ कार्यालयमा विषादी परीक्षण रोकिएको २ वर्षभन्दा बढी भयो । प्रयोगशालाको ढोकामा तीन वटा ताला झुण्डिएका छन् । चार वर्षअघि संघीय सरकारले स्थापना गरेको यो प्रयोगशाला केही समय चले पनि अधिक समय बन्द नै रह्यो ।

बन्द रहेकै बेला गएको कात्तिकमा केन्द्रीय कृषि प्रयोगशाला ललितपुरले विषादी परीक्षण गर्ने स्पेक्ट्रोफोटोमिटर र स्पेक्ट्रोफोटोमिटर प्रिन्टर लगेको हो । पोखरामा प्रयोगशाला संचालनमा नआएको भन्दै भारततर्फका भन्सारमा विषादी परीक्षण गर्ने भन्दै खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगर लगिएको हो ।

कृषि बजार व्यवस्थापन समिति भने मेसिन अन्यन्त्र लगिएको बारे बेखबर छ । विषादी परीक्षण गर्ने प्रयोगशालासँगै रहेको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष र व्यवस्थापक प्रयोगशालामा मेसिन रहेको तर कर्मचारी नभएको तर्क गर्छन ।

विषादी परीक्षण गर्ने प्रयोगशाला संघीय सरकार मातहत रहे पनि कृषिका अन्य कार्यालय भने गण्डकी प्रदेश सरकार मातहत आए । कर्मचारी सरुवा भए, संघ सरकारले प्रयोगशाला संचालन गर्न चासो देखाएन । यसले समस्या भयो ।

संघ र प्रदेश सरकारबीच समन्वय नहुँदा प्रयोगशालाको ढोकामा ताल्चा मात्र लागेन उपभोक्ता परीक्षण विनै तरकारी र फलफूल उपभोग गर्न बाध्य भएका छन् ।

प्रदेश सरकारले प्रदेश राजधानीमा रहेको मुख्य बजारमा भएको प्रयोगशाला संचालनमा उदासिनता मात्र देखाएन मेसिन नै अन्यन्त्र पठाएर शुद्धवस्तु उपभोग गर्न पाउने उपभोक्ताको अधिकार बञ्चित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *