राजनीति

प्रतिक्रान्तिकारीहरु अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको माओवादी अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ९ गते १६:२४
प्रतिक्रान्तिकारीहरु अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको माओवादी अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

९ पुस २०७८ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरु अझैपनि षड्यन्त्रकै प्रक्रियामा रहेका बताउनुभएको छ ।

आज नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरु राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउने षड्यन्त्रमा लागको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताउनुभएको हो । राजनीतिक परिवर्तनहरुलाई जोगाउन क्रान्तिका पक्षधर शक्तिहरु एकजुट भएर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीहरुबिचमा एकता भएमात्रै प्रतिक्रान्तिलाई रोक्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले पनि हामी ढुक्क हुने स्थिति छैन । प्रतिक्रान्तिकारी, प्रतिगमनकारी र षड्यन्त्रकारीहरु अहिलेपनि प्रतिक्रिया र षड्यन्त्रकै प्रक्रियामा छन् । त्यसकारण हामी राष्ट्रका, जनताका पक्षधर, क्रान्तिका पक्षधर, सबै शक्तिहरु एकजुट भएर त्यसको प्रतिवाद गर्ने कुरामा कहिँ, कतै हामीले रिल्याक्स गर्नुहुने स्थिति छैन । हामीले पुरै मेहनतका साथ अगाडी जानु छ । त्यसको निम्ति कम्युनिष्टहरु बिचको एकता सबभन्दा ठुलो कुरा हो ।’

उहाँले अवसरवादीहरु पार्टी प्रवेशको नाउँमा गाउँमा केही मान्छेहरुको सिला खोज्दै हिँडेको टिप्पणी गर्नुभयो । उहाँले आफ्नो पार्टीमा मानिसहरुको प्रवेश हुनुलाई सुनारको सय चोट लोहारको एकै चोट भन्ने उखानको उदाहरण दिदैँ लोहारको एक चोटको संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हुनत अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छेको सिला खोज्दै हिड्ने ग-या छन् । तपाईहरुले देख्नुभयो होला । पार्टी प्रवेशका नाउँमा भन्दै गाउँगाउँतिर सिला खोज्दै । तर सुनारको सय चोट लोहारको एकै चोट भन्याजस्तो आज हामीले लोहारको चोट हान्यौँ ।’

अध्यक्ष प्रचण्डले नेकपा (एमाले)ले धाक दिँदै हिँडेको भन्दै आगामी निर्वाचनमा उनीहरुको हालत जनताले देखाउने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाकधम्की लगाएर त हिँडेका छन् । उनीहरु त्यो धाकधम्की मात्रै हो । आउने निर्वाचनमा देखिनेछ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन् ।’

अध्यक्ष प्रचण्डले गठबन्धनका राजनीतिक दल र दलका नेताहरुसँग आफुहरुको कुनैपनि प्रकारको वैरभाव नरहेको बताउनुभयो । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कुनै गठबन्धनका नेता र पार्टीसँग हाम्रो कसैसँग कुनै वैरभाव छैन । बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । र हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकीकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनैपनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकीकरण भएको घोषणा गरिएको हो । नेकपा मसाल (सम्पर्क केन्द्र)को तर्फबाट नेतृत्व लोकेन्द्र लम्सालले गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्