समाज

यसरी हुँदैछ बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १६:५८
यसरी हुँदैछ बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंसिर २९ गतेदेखि बाघ गणना भइरहेको छ । स्वचालित क्यामेरा जडान गरी क्यामेरा ट्यापिङ प्रविधिबाट शुरु भएको बाघ गणनामा निकुञ्ज कर्मचारी, नेपाली सेना, नेचर गाइड, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका युवा, ईको क्लबका विद्यार्थी र प्राविधिकहरु गरी पहिलो चरणमा ४५ जना खटिएका छन् ।

६–६ जना प्राविधिकसहित ७ वटा टोली निकुन्जको विभिन्न स्थानमा क्याम्प नै खडा गरेर बसेका छन् । क्याम्पमा बसेका प्राविधिक टोलीलाई दुई वटा हात्तीसहित ५ जनाको टोलीले सहयोग गर्दै आएको छ । पहिलो चरणमा बर्दियामा बाघ गणनाका लागि १ सय ९४ जोडी स्वचालित क्यामरा राखिएको छ ।

क्यामरा जडान भएको क्षेत्रमा कुनै पनि वन्यजन्तु ओहोरदोहोर हुनासाथ स्वचालित क्यामराले फोटो खिच्छ । एउटा स्थानमा कम्तीमा १५ दिनसम्म स्वचालित क्यामरा राखेर फोटो खिचिन्छ । ती क्यामराले खिचेका सबै फोटोलाई संकलन गरेर विज्ञसहित प्राविधिकको टोलीले विश्लेषण गरी बाघको संख्या एकिन गर्छ ।

गणनाका क्रममा बाघ लगायत जंगली जनावरबाट हुन सक्ने आक्रमणको जोखिमलाई कम गर्न २ वटा हात्तीसँगै निकुन्जमा बाघको संभावित बासस्थानका बारेमा जानकार निकुन्ज कर्मचारी र नेचर गाइडलाई परिचालन गरिएको छ । बाघ गणनामा खटिने व्यक्तिको दुर्घटना बीमासमेत गरिएको छ ।

बाघ गणना गर्ने क्रममा राखिएका स्वचालित क्यामरामा खिचिएका फोटो क्याम्पमा खटिएका प्राविधिकले नियमित रुपमा संकलन गर्छन् ।

सन् २०१० मा रुसमा भएको बाघ सम्मेलनमा नेपालले सन २०२२ सम्म बाघको संख्या दोब्बर अर्थात २ सय ५० पुराउने प्रतिबद्धता जनाएको छ । पछिल्ला वर्षमा बाँके र बर्दिया लगायत देशैभरका निकुन्जहरुमा बाघको घनत्व बढेकाले लक्ष्य पूरा हुने देखिएको छ ।

बाघ संरक्षणका लागि वैज्ञानिक अध्ययन अनुसन्धान गरी दिगो संरक्षणका रणनीति र योजना बनाउन हरेक ४ वर्षमा बाघ गणना गर्ने गरिन्छ । बाघको संख्याका आधारमा बासस्थान, आहार र पानीको ब्यबस्थापन गर्न निकुन्जलाई सहज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *