आर्थिक

केरा बेच्ने समयमा बोटै काट्न बाध्य किसान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ६ गते १४:५०
केरा बेच्ने समयमा बोटै काट्न बाध्य किसान (भिडियो रिपोर्टसहित)

६ पुस २०७८ रुपन्देही । केरा पाकेर बेच्ने समयमा रुपन्देहीको बेथरीका किसानले केराको बोट नै काट्न थालेका छन । २० वर्षदेखि नगदे बालीका रुपमा किसानले केरा खेती शुरु गरेका हुन् । तर २ वर्षदेखि खेतीमा सरुवा रोग देखा परेपछि किसानले केराको बोट नै काट्न थालेका हुन् ।

केरा पसाएर नपाक्दै रोग लागेर बोटमै कुहिन थालेपछि किसानले धमाधम केराको बोट काटिरहेका छन् । केरा पाक्नुभन्दा २ महिना अघि नै घरी, पात र बोट नै पहेलो हुँदै सुकेर जान थालेपछि किसान मर्कामा परेका छन् ।

बेथरीमा करिब एक सय जना किसानले २० वर्षदेखि १२० विघा जग्गामा केरा खेती गर्दै आएका छन । खेतीबाट राम्रो आम्दानी हुन्थ्यो । तर २ वर्षदेखि केरामा रोग देखा परेपछि किसानले करोडौंको नोक्सानी बेहोर्नु परेको छ ।

केरामा रोग देखा पर्न शुरु गरेपछि कृषि कार्यालय र प्राविधिकलाई पनि किसानले जानकारी गराए । कृषिविज्ञ खेतमै आएर परीक्षण गर्दा पनि न रोग पत्ता लाग्न सक्यो, न त महामारी रोकियो । रोगको उपचार नपाएपछि किसानले २० वर्षदेखि गर्दै आएको केरा खेती छोडेर अन्य खेती गर्ने सोच बनाएका छन ।

बेथरीमा देखा परेको रोग अन्य स्थानमा पनि सर्ने चिन्ता किसानलाई छ । सरकारले कृषि मैत्री नीति बनाउन नसक्दा किसान मारमा परेको गुनासो गर्छन् ।

कृषिमा सरकारले बीमा गर्ने नीति ल्याए पनि केरा खेतीको बीमा गर्न किसानले पाएका छैनन् । बीमा गर्ने संस्थाले केराखेतीको बीमा गर्न आलटाल गरिदिँदा किसान मारमा पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *