चिलीको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता बोरिक विजयी
५ पुस २०७८ चिली । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् ।
३५ वर्षीय बोरिकले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् । ३५ वर्षको उमेरमा राष्ट्रपति निर्वाचित भएका बोरिक विश्वकै कान्छा नेतामध्ये एक हुन् । उनी चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति बन्ने भएका छन् ।
पूर्व विद्यार्थी नेता बोरिकले असमानता र भ्रष्टाचारको विरुद्धमा सरकारविरोधी जनप्रदर्शनको नेतृत्व गरेका थिए । उनका प्रतिस्पर्धी कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरे ।
उनले हार स्वीकार गर्दा मतगणना आधा मात्रै सकिएको थियो । युवा नेता बोरिकले ५६ प्रतिशत मत पाउँदा कास्तले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । निवर्तमान राष्ट्रपति सेवास्टियन पिनेराले फोनमार्फत बोरिकलाई बधाइ दिएका छन् ।
सरकारविरोधी प्रदर्शनको पृष्ठभूमिमा हिजो भएको राष्ट्रपतीय निर्वाचन पछिल्लो केही दशकयताकै सबैभन्दा विभाजित परिवेशमा सकिएको थियो ।
कुनै समय दक्षिण अमेरिकाको एक स्थिर अर्थतन्त्रका रुपमा चिनिएको चिलीमा अहिले धनी र गरिबबीचको भिन्नता निकै गम्भीररुपमा देखा परेको छ। बोरिकले असमानता अन्त्यका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिक्रिया