यू–१९ साफ महिला फूटबलमा नेपाल भारतसँग पराजित
![यू–१९ साफ महिला फूटबलमा नेपाल भारतसँग पराजित](https://www.himalayatv.com/wp-content/uploads/2021/12/mahila-footbal.jpg)
४ पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनसिप अन्तर्गत लीग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग १९० गोलले पराजित भएको हो । भारतको जितमा १ मात्र गोल प्रियंका देवीले गरिन् ।
पहिलो हाफमा पाएका केहि राम्रा अबसर सदुपयोग गर्न नसकेको भारतले दोस्रो हाफमा अग्रता लिएको हो । खेलमा बल पकड कायम राखेको भारतले गोलका लागि ६७ औं मिनेटसम्म कुर्नुपर्यो ।
गोलकिपर अन्जना रानामगरले रिलिज गरेको बल नियन्त्रणमा लिँदै मुभ बनाएको भारतका लागि प्रियंकाले अग्रता दिलाएकी हुन् । पेनाल्टी एरियामा सुमती कुमारीको पासमा अनमार्क रहेकी प्रियंकाले वान टचमा सुन्दर गोल गरिन् ।
जितसँगै भारत ९ अंक जोड्दै फाइनल प्रवेश गरेको छ । ७ अंक रहेको नेपाललाई भने फाइनल प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । आजै हुने अन्तिम खेलमा घरेलु टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
बंगलादेशको पनि ७ अंक छ भने तालिकाको पुछारमा रहेको श्रीलंका अंकविहीन छ । यस्तोमा त्यस खेलमा बंगलादेश पराजित भएमा नेपाल उपविजेता बन्दै फाइनल प्रवेश गर्नेछ । तर जारी प्रतियोगिताकै कमजोर श्रीलंका घरेलु टोलीसँग बराबरीमात्र खेलेपनि नेपालको फाइनल सम्भावना सकिनेछ ।
प्रतिक्रिया