यू–१९ साफ महिला फूटबलमा आज नेपालले चौथो खेल खेल्दै

४ पुस २०७८ काठमाडौं । बंगलादेशमा जारी १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनसिपमा नेपालले आज चौथो खेल खेल्दैछ ।
प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आज लगातार तेस्रो जितको खोजिमा रहनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ६–० को जित निकालेको थियो ।
यस्तै तेस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो । उता भारतले पहिलो खेलमा श्रीलंकालाई ५–० र दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो । तेस्रो खेलमा भने बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
भारतलाई हराउँदै नेपाल आज फाइनलमा स्थान सुरक्षित पार्ने लक्ष्यमा रहनेछ । भारत पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । भारतलाई बराबरीमा रोकेपनि नेपाललाई फाइनल पुग्ने अवसर रहनेछ ।
शीर्ष स्थानको नेपालले ३ खेलबाट २ जित र एक बराबरीसहित ७ अंक जोडेको छ । भारत ६ अंकका साथ तेस्रो स्थानमा छ ।
उता आजै बंगलादेश र श्रीलंकाबीचको खेल हुनेछ । श्रीलंका पुछारमा रहेको टोली हो भने नेपालसँगै समान ७ अंक रहेको बंगलादेश दोस्रो स्थानमा छ ।
ढाकास्थित विर श्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल रंगशालामा खेल दिउँसो पौने तीन बजे शुरू हुनेछ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाबीच खेल भइरहेका छन् । प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल पुस ७ गते हुनेछ ।
प्रतिक्रिया