खेलकूद

घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७८ पुष ३ गते १८:१४
घरेलु मैदानमा पुलिसलाई पराजित गर्दै मनाङ लीगको शीर्ष स्थानमा

३ पुस २०७८ काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब जारी ‘कतार ऐवरवेज शहीद स्मारक ए डिभिजन लीग फुटबल’ को शीर्ष स्थानमा उक्लिएको छ ।

लीगको पाँचौँ चरणको खेलमा आज आफ्नो ‘होम ग्राउण्ड’ पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबमाथि ३–१ गोल अन्तरको जित निकाल्दै मनाङ लीग तालिकाको शीर्ष स्थानमा पुग्न सफल भयो ।

खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका फरवार्ड अञ्जन विष्टको दुई गोलको मद्दतमा मनाङले पुलिसलाई पोखरा रङ्गशालामा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले समान एक/एक गोल गरेपनि दोस्रो हाफमा भने मनाङले दुई गोल थप्दै महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

खेलको १० औँ मिनेटमा विष्टले गोल गर्दै मनाङको अग्रता बनाउनुभयो । उहाँले रक्षक दिनेश राजवंशीको लामो पासमा विपक्षी टोलीका गोलकिपर रोशन खड्का पेनाल्टी एरियाबाट बाहिर आएको मौकामा गोल गर्नुभयो । खेलको ३५औँ मिनेटमा पुलिस क्लबले गोल गर्दै खेल बराबरीमा ल्यायो । मनाङका रक्षक सरोज योञ्जन लामाले डिबक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गरेपछि पुलिसले पेनाल्टी पायो । पेनाल्टीमा पुलिसका सुमना लामाले गोल गर्दै टोलीलाई खेलमा फर्काउनुभयो ।

मनाङले दोस्रो हाफमा अञ्जन विष्टको प्रि–किक गोलमार्फत खेलमा पुनः अग्रता बनायो । ७३औँ मिनेटमा अञ्जनले विपक्षी टोलीका खेलाडीले बल हातले छोएपछि पाएको किकमा सुन्दर गोल गर्नुभएको थियो । मनाङका निशान लिम्बुले ८३ औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । लिम्बुले ओलावालेको पासलाई उपयोग गरी गोल गर्नुभएको थियो ।

मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ बनाएपछि पुलिस क्लब लिगको पाँचौँ चरणको खेल खेल्न पोखरा आएको थियो । खेलमा दुबै टोलीले गोलका केही सुन्दर मौका सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् । पुलिसँगको खेलमा जित हात पारेपछि मनाङ १३ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अङ्कसहित मच्छिन्द्र फुटबल क्लब दोस्रो तथा त्रिभुवन आर्मी र सङ्कटा क्लब समान नौ अङ्क सहित क्रमश : तेस्रो र चौथो स्थानमा छन् ।

मनाङले आगामी पुस ११ गते ब्रिगेड ब्वाईज क्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग पोखरा रङ्गशालामा खेल्ने तालिका छ । खेलपछिको पत्रकार सम्मेलनमा मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले घरेलु मैदानमा पहिलो खेल कठिन भएको बताउनुभयो । खेलको दोस्रो हाफमा रणनीति परिर्वतन गरेपछि जित सम्भव भएको उहाँले प्रतिक्रिया दिनुभयो । पुलिसका प्रशिक्षक अनन्तराज थापा भने सम्मेलनमा अनुपस्थित रहनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्