यस्तो अभाव र समस्यामा शिद्ध बहिरा बाल स्कुल (भिडियो रिपोर्टसहित)
३ पुस २०७८ सुर्खेत । सुन्ने र बोल्ने क्षमता नहुँदा हाउभाउबाट अध्ययन अध्यापन भइरहेको सुर्खेतको शिद्ध बहिरा बाल स्कुल आफै अभाव र समस्याबाट गुज्रिएको छ ।
सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित स्कुलले भवन, खेल मैदान, पाठ्यपुस्तक, शिक्षक र आवश्यक बजेट अभाव खेप्दै आएको छ ।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ मा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटा मात्र विद्यालय छ । २०३७ सालमा स्थापना भएको सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयलाई यसैमा गाँभिएको थियो ।
जीर्ण भवनमा कक्षा सञ्चालन गर्दै आएको विद्यालयमा अहिले कक्षा ९ सम्म ९० जना विद्यार्थी अध्ययनरत छन् । सुस्तश्रवण क्षमताका विद्यार्थीले भौतिक संरचना, शैक्षिक सामग्री, अपांगमैत्री सरंचनाको अभावसँग सांकेतिक भाषामा विज्ञ शिक्षकको अभावसमेत झेलीरहेको बताउँछन् ।
उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यार्थीले समस्या भोग्नु परेको छ । विशेष शिक्षामार्फत सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने विशेष शैक्षिक सामग्रीको समेत अभाव छ ।
विद्यालयले भने भौतिक संरचना, शैक्षिक सामग्री लगायत शिक्षक अभाव स्थापनाकालदेखि नै भोग्दै आएको छ । एक अनुसन्धानका अनुसार १० जना सुस्तश्रवर्ण भएका विद्यार्थी बराबर एक जना शिक्षक अनिवार्य हुनुपर्ने हु्न्छ। तर कक्षा ९ सम्म सञ्चालित विद्यालयले भने विषय शिक्षकसँगै सांकेतिक भाषामा विज्ञ शिक्षक पाउन सकेको छैन ।
श्रवणशक्ति नभएका विद्यार्थीका लागी अध्ययन गर्ने प्रदेशकै एक मात्र विद्यालय भएकाले पनि विधार्थी आउने क्रम वढ्दो छ । तर आर्थिक अवस्था र पुर्वाधार नहुँदा विधालयमा दिनहुँ समस्या हुने गरेको छ । सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न प्रदेश सरकारको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया