समाज

ठेकेदारको लापरबाही, दुई वर्षमै स्वास्थ्य चौकी भवन जीर्ण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष ३ गते १४:२६
ठेकेदारको लापरबाही, दुई वर्षमै स्वास्थ्य चौकी भवन जीर्ण (भिडियो रिपोर्टसहित)

३ पुस २०७८ बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीको स्वास्थ्य चौकी भवन हस्तान्तरण भएको दुई वर्षमै जीर्ण बनेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण २ करोड ३४ लाखमा निर्माण भएको भवन हस्तान्तरण भएको दोस्रो वर्ष नै जीर्ण बनेको हो ।

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा रहेको स्वास्थ्य चौकी भवन । यो भवन २०७६ साल मंसिर २२ गते हस्तान्तरण गरिएको थियो । अहिले यो भवनले पानी पर्दा ओत दिन त सक्दैन न नै, धेरै ठाउँमा भत्किएको पनि छ ।

ओखलढुङ्गा बीएमए जय कालिका जेभिले संयुक्त रुपमा २ करोड ३४ लाख रुपैयाँमा निर्माणको जिम्मेवारी पाएका थिए । भवन निर्माण गर्दा ठेकेदार कम्पनीले चरम लापरबाही गरेका कारण अहिले भवनमा धेरै समस्या देखिएको स्थानीय बासिन्दाले बताएका छन् । पटक–पटक भवनको बारेमा लिखित तथा मौखिक जानकारी गराउँदा पनि कुनै निकायले सुनुवाइ नगरेको उनीहरुको गुनासो छ ।

भवन निर्माण गर्दा कमसल सामग्रीहरुको प्रयोग गरिएको, ठेकेदार प्रतिनिधिले ‘एस्टिमेट’ अनुसार काम नगरेको, सरोकारवाला निकायले अनुगमननै नगरी भवन पास गरिदिएपछि अहिले भवनबाट सेवा दिननै समस्या भएको छ ।

ठेकेदार प्रतिनिधिलाई जानकारी गराउँदा ठेकेदार प्रतिनिधि सन्तोष चोखालले धाकधम्की दिएको जनप्रतिनिधिकै दुखेसो छ ।

तर ठेकेदार प्रतिनिधि दुई वर्षको अवधिमा आफूलाई कुनै पनि जानकारी नआएको भन्दै जनप्रतिनिधिको आरोपको खण्डन गर्छन् ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा भएको यस्तो लापरवाहीले विकास निर्माणमा ठेकेदारको मनपरी कतिसम्म रहने गरेको प्रष्ट हुन्छ । अनुगमन गर्ने निकाय समेत प्रभावित हुँदा विकासमा परेको बाधाको जवाफ कसले दिने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *