धनगढीमा ट्राफिक व्यवस्थापन यसरी चुस्त पारिँदै (भिडियो रिपोर्टसहित)
![धनगढीमा ट्राफिक व्यवस्थापन यसरी चुस्त पारिँदै (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/12/dhangadi-trafic.jpg)
२ पुस २०७८ धनगढी । हजारौँको संख्यामा गुड्ने अटो रिक्सा र अव्यवस्थित पार्किङका कारण अस्तव्यस्त देखिने सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी पछिल्लो समय व्यवस्थित बन्दै गएको छ ।
एकातर्फ मोहना अत्तरिया सडकखण्डमा लामबद्ध किसिमले पार्किङ गरिएको ट्याङ्कर त अर्कोतर्फ धनगढी चौराहामा जथाभावी रोकिने सवारी साधनले सडकनै कब्जा गरेका हुन्थे । तर केही समययता यी समस्या कम हुँदै गएका छन् ।
सवारी साधनको चाप बढेका कारण धनगढी बजार अस्तव्यस्त बन्दै गएपछि प्रहरीले ट्राफिक व्यवस्थापन चुस्त बनाउन पहल थालेको छ । ट्राफिक प्रहरीले धनगढी बजार क्षेत्रमा अटो रिक्सामा जोर बिजोर लागू गर्नुका साथै सवारी पार्किङका लागि पनि योजना बनाएको छ ।
त्यस्तै मोहना अत्तरिया ६ लेन सडकमा लामो समयदेखि पेट्रोलियम पदार्थ बोकेका ट्याकंरको अस्तब्यस्त पार्किङमा पनि सुधार हुने देखिएको छ । धनगढी मिलनचोकस्थित नेस्नल ट्रेडिङको जमिनमा ट्याङ्कर पार्किङ शुरु गरिएको छ ।
सडकमा पार्किङ गरिने ट्याङ्करहरु अब व्यवस्थित रुपमा पार्किङ गरिन थालेपछि चालकहरु पनि ढुक्क छन् । तर सुरक्षाका कारण विभिन्न समस्या आउन सक्ने भन्दै चालकले थप व्यवस्थित गर्न माग राखेका छन् ।
।
प्रहरीले जिल्लाको शान्ति सुरक्षासँगै ट्राफिक व्यवस्थापन पनि चुस्त दुरुस्त बनिरहेको दाबी गरेको छ । ट्राफिक व्यवस्थापन नभएकै कारण दैनिक दुर्घटना निम्तिरहेको स्वीकार गर्दै प्रहरीले अझै सुधार बाँकी रहेको जनाएको छ ।
ट्राफिक व्यवस्थापनका लागि कैलाली प्रहरी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले देखाएको तदरुकता सराहनीय छ । यसलाई थप सुधार गर्दै लगिए धनगढीबासीलाई पक्कै राहत हुनेछ ।
प्रतिक्रिया