खेलकूद

साफ यू–१९ महिला फूटबलमा नेपाल विजयी, श्रीलंका ६–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७८ मंसिर २९ गते १६:५८
साफ यू–१९ महिला फूटबलमा नेपाल विजयी, श्रीलंका ६–० गोल अन्तरले पराजित

२९ मंसिर २०७८ काठमाडौं । उन्नाई वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

नेपालको जितमा रश्मी कुमारी घिसिङले २ तथा सविता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले १–१ गोल गरिन् । खेलको पहिलो हाफमा नेपालले ३–० गोलको अग्रता लिएको थियो ।

खेलको सुरुवातदेखिनै श्रीलंकालाई दबाव दिएको नेपालले पाँचौं मिनेटमै अग्रता लियो । रश्मी कुमारी घिसिङको गोलबाट अग्रता लिएको नेपाललाई त्यसको दुई मिनेट पछिनै सविता राना मगरले गोल गर्दै २–० को अग्रता दिलाइन । त्यसपछि पनि पटकपटक गोलको अवसर बनाएको नेपालले पहिलो हाफको अन्तिममा तेस्रो गर्न सफल भयो ।

४३ औं मिनेटमा मेनुका कुमारी आले मगरले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । दोस्रो हाफमा पनि नेपालले श्रीलंकाको पोष्टमा लगातार आक्रमण जारी राख्दै थप ३ गोल गर्‍यो ।

पहिलो हाफको सुरुवातमै रजनीले टोलीका लागि चौंथो गोल गरिन् । त्यस्तै ५३ औं मिनेटमा सलोनी र ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गरिन् ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोल रहित बराबरी खेलेको नेपालले यो जितसँगै ४ अंक जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *