खेलकूद

राखेप सदस्य सचिव सिलवाललाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

हिमालय टिभी
२०७८ मंसिर २९ गते १६:५३
राखेप सदस्य सचिव सिलवाललाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

२९ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तगीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले आज सिलवाललाई पूर्ववत काममा फर्कन आदेश दिएको हो । तत्कालिन प्रधानमन्त्री केपी ओली सरकारले सिलवाललाई गत वर्ष साउनमा दोस्रो पटक सदस्य सचिव नियुक्त गरेको थियो ।

पहिलो पटक राजनीतिक नियुक्ति पाएका सिलवाल दोस्रो पटक राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गतनै राखेपको नेतृत्वमा पुगेका हुन् । तर सरकार परिवर्तन भएसँगै युवा तथा खेलकुद मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो ।

वर्तमान सरकारको मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण मागेको थियो । तर जवाफ चित्त बुझ्दो नभएको भन्दै मन्त्रीपरिषद् बैठकले सिलवाललाई बर्खास्त गरेपछि उनी सर्वोच्च गएका थिए । त्यस समय राखेपको सदस्य रहेका ९ जनालाई पदमुक्त गरेर मन्त्री गहतराजले अन्य ८ जना सदस्यलाई नियुक्त गरेका थिए ।

यस विषयमा बर्खास्तगीमा परेका ५ जना सदस्यको रिट विचाराधीन छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले यसै महिना राखेपको सदस्य सचिवमा नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका टंकलाल घिसिङलाई नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्