खेलकूद

ए डिभिजन लीग : चौथो चरण सकिँदा मछिन्द्र शीर्ष स्थानमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २८ गते २०:४४
ए डिभिजन लीग : चौथो चरण सकिँदा मछिन्द्र शीर्ष स्थानमा (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौंथो चरण सकिँदा साबिक विजेता मछिन्द्र क्लब तालिकाको शीर्षस्थानमा छ । अहिलेसम्म ४ टोलीले अपराजित यात्रालाई निरन्तरता दिँदा मछिन्द्रसँगै मनाङ मर्स्याङ्दी क्लबको पनि समान १० अंकनै छ ।

तर गोल अन्तरले मनाङ दोस्रो स्थानमा रहँदा रेलिगशेन जोनमा रहेका जावलाखेल युथ क्लब र विभागीय टोली एपिएफले यस चरणमा बल्ल अंकको खाता खोलेका छन् ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जति जति प्रतिस्पर्धाहरु बढिरहेका छन् उतिनै अंक तालिकामा रोमाञ्चकता पनि थपिँदै छ । लिग सुरु हुनु अगाडीनै अंक तालिका र खेलको अनुमानसम्म भए । तर खेलहरुको नतिजासँगै कतिपय क्लबले अपेक्षाकृत प्रदर्शन गरे भने केही टोलीले स्वभाविक खेलसम्म पनि खेल्न सकेनन् ।

हाल चौंथो चरणको समाप्तीमा साबिक विजेता मछिन्द्र क्लब तालिकाको शीर्षस्थानमा छ । ४ खेलमा ३ जित र १ बराबरी खेलेको मछिन्द्रको समान १० अंक भएपनि अर्को दाबेदार मनाङ मस्र्याङ्दी गोल अन्तरले दोस्रो स्थानमा छ । यि दुई सहित त्रिभुवन आर्मी र संकटा क्लब अहिलेसम्म अपराजित रहँदा ४ क्लबले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन् ।

चौंथो चरणमा सातदाबाटो युथ क्लब र नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा सक्काए । चौंथो चरणको समाप्तीमा कुनै पनि क्लब अंक विहीन रहेनन् । रेलिगेसन जोनमा रहेका जावलाखेल र एपीएफले यस चरणमा १ अंक जोड्न सफल भए ।

जावलाखेलले अहिलेसम्म कुनै गोल गर्न सकेको छैन् । तर तेस्रो चरणमा मछिन्द्रविरुद्धको खेलमा जावलाखेलका डिफेन्डर सिमान्त थापाले आत्मघाती गोल उपहार दिए । त्यस्तै सातदोबाटोका करण रावतले पनि १ गोल आत्मघाती गरे ।

चौंथो चरणसम्म कुल ५० गोल हुँदा संकटाका निरज वस्नेतले पुलिसविरुद्ध गरेको गोल लिगको ५० औं रह्यो । जसमा सातदोबाटोका मार्टिन्स अजयी, मछिन्द्रका सुनिल बल र संकटाका निरज वस्नेतले सर्वाधिक ३(३ गोल गरे । मार्टिन्स अजयी जारी लिगकै १ मात्र ह्याट्रिककर्ता हुन् । उनले एपिएफविरुद्धको खेलमा ३ गोल गर्दै जारी लिगकै पहिलो ह्याट्रिक गरेका हुन् ।

त्यस्तै, पाँच खेलाडीले दुई गोल गर्दा २९ खेलाडीले १(१ गोल गरेका छन् । आर्मीका विकेश कुथु, मछिन्द्रका विशाल श्रेष्ठ र मनाङका विशाल सुनारले जारी लिगको ३ खेलमा क्लिन सिट राखे । जसमा आर्मीका विकेश र मछिन्द्रका विशालले अहिलेसम्म १ गोल मात्र व्यहोरेका छन् । लिगमा अहिलेसम्म ७७ पहेँलो कार्ड देखाउँदा चौंथो चरणमा मात्र १६ पहेँलो कार्ड देखाइको छ । यसबीचमा रेफ्रिले १ मात्र रातो कार्ड देखाउनु परेको छ ।

लिगमा क्लबहरुबीच् जति जति प्रतिस्पर्धा बढिरहेको छ उतिनै दर्शकबीच उत्साह पनि थपिँदै गएको छ । हरेक खेलमा रंगशालामै पुगेर प्रत्येक्ष खेल हेर्ने दर्शकको संख्या पनि बढिरहेको छ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले साताको अन्तिम दिन र साँझको समयमा खेलहरु गराउनुको पछाडि एक कारण दर्शकको उपस्थिति पनि हो । जसमा एन्फा सफल भएको मान्न सकिन्छ । साबिक विजेता मछिन्द्र र उपविजेता आर्मीबीचको खेलमा एन्फाका अनुसार ४ हजार टिकट बिक्रि भएको थियो ।

त्यस्तै अन्य खेलमा पनि औषत १ हजारभन्दा बढि दर्शक रंगशाला पुगेको एन्फाको तथ्यांक छ । यसकै आधारमा पनि घरेलु फुटबलमा दर्शकको आकर्षण बढ्ने सम्भावना देखिएको छ । अब पाँचौं चरणका खेल शुक्रबारदेखि हुँदैछन् । एन्फाले नवौं चरणको खेल तालिका सार्वजनिक गर्दा पहिलो पटक लिगका खेल उपत्यका बाहिर जाने पक्का भएको छ । पाँचौं चरणमा मनाङले पुलिसविरुद्धको खेल पोखरामा रंगशालामा खेल्ने भएको छ ।

पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा प्रयोग गरेको मनाङले सातौं चरणमा ब्रिगेड ब्वाईज र आठौं चरणमा च्यासल विरुद्धको खेल पनि पोखरामै खेल्ने पक्का भएको छ । हरेक संस्करण परिमार्जन हुँदै आएको लिगमा यस पटकको प्रयोगलाई अधिकांश दर्शकले समर्थन पनि गरेका छन् ।

लिगकै अन्य खेल स्थलको रुपमा प्रचार गरिएको एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल मैदानमा कहिले खेल हुने भन्ने विषयमा एन्फाको आधिकारिक धारणा आएको छैन् । तर दर्शकको उपस्थिति र लिगमा गरिएको एन्फाको प्रयोग भने अहिलेसम्म सफलनै भएको मान्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्