समाज

कोचिएर बस्न बाध्य छन् कैदीबन्दी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २८ गते १७:१९
कोचिएर बस्न बाध्य छन् कैदीबन्दी (भिडियो रिपोर्टसहित)

२८ मंसिर २०७८ बाँके । ३ सय ५० जनाको क्षमता रहेको बाँकेको नेपालगन्जस्थित कारागारमा ८ सय ८ जना कैदीबन्दी राखिएको छ । क्षमता भन्दा धेरै जना कोचिएर बस्नु पर्दा उनीहरुले न्यूनतम आधारभूत सुविधासमेत पाउन सकेका छैनन् । नयाँ कारागार भवन निर्माणकार्यमा पनि ढिलाइ भएको छ ।

कैदी बन्दीलाई ब्यबस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण सुरु गरेको ५ बर्ष बिति सक्दा पनि पुरा भएको छैन । क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाई हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न हम्मे परेको छ ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर ९भ्याट०बाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

२०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो । तर, यो समयमा कामपुरा नहुँदा पप्पु कालोसूचीमा परेको छ । अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ ।

ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७६ कार्तिक ८ गते सम्म कारागार भबन निर्माण सम्पन्न गर्नु पर्ने थियो । तर अहिलेसम्म करिब ८० प्रतिशत काम मात्रै पुरा भएको छ । पटक पटक म्याद थपेर चैत समान्तसम्म पुर्‍याइएको छ । तर बाँकी अबधिमा २० प्रतिशत काम पुरा हुने सम्भावना कम छ । कारागार व्यवस्थापन बिभागले निर्माण कार्यलाई तिब्रता दिन निर्माण कम्पनीलाई ताकेता गर्दै आएको छ ।

बाँकेमा मात्रै नभएर देशैभरका कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी छन । कारागार ब्यबस्थापन बिभागको पछिल्लो तथ्याङ्क अनुसार देशैभरका कारगारको क्षमता करिब १६ हजार छ । तर नयाँ कारागार भवन निर्माण नहुँदा क्षमता भन्दा झन्डै दोब्बरभन्दा बढी कैदी बन्दी राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *