खेलकूद

खेलाडी र क्यानबीचकिन शुरु भयो शितयुद्ध ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २७ गते ६:१४
खेलाडी र क्यानबीचकिन शुरु भयो शितयुद्ध ? (भिडियो रिपोर्टसहित)

२७ मंसिर २०७८ काठमाडौं । ३ वर्षभन्दा बढी समयपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बनबाट सशर्त फुकुवा भएको नेपाल क्रिकेट संघ क्यान फेरी एक पटक गम्भिर समस्यामा परेको छ ।

वर्गीकरणमा चित्त नबुझाएका केहि खेलाडी र क्यानबीच अहिले शितयुद्ध चलिरहेको छ । क्यान खेलाडीमाथि स्पष्टिकरण मागिरहेको छ भने खेलाडीहरु पनि क्यानमाथि दोषारोपण गरिरहेका छन् ।

दुई वर्ष अघि आईसीसीको स्वतन्त्र कमिटिले निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गरेपछि क्यान सशर्त फुकुवा भयो । साढे ३ वर्षसम्म आईसिसीको निलम्बनमा रहेको क्यानमा चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्य समिति बनेपछि बाँकी समस्या पनि समाधान हुने आशामा क्रिकेट समर्थक थिए ।

तर दुई वर्षसम्म पनि क्यानबाट अपेक्षा पुरा नभएपछि आक्रोशित समर्थकले क्यानको कार्यशैलीमै प्रश्न उठाइरहेका छन् । यहीबीचमा क्यानले डिसेम्बरसम्मका लागि पुरुष र महिला खेलाडीको वर्गिकरण सार्वजनिक गर्‍यो । आईसीसी विश्व क्रिकेट लीग टु र नेपालमै भएको त्रिकोणात्मक सिरिजको आधारमा सेन्ट्रल कन्ट्र्याक्टका लागि खेलाडी छनोट गरेको क्यानले बताइरहेको छ ।

तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठ नेतृत्वको समितिले मापदण्ड बनाएर १८(१८ जना पुरुष र महिला खेलाडीको वर्गीकरणको सुची साउनमा नै क्यानमा बुझाएको थियो । तर क्यानले गत महिनामात्र वर्गीकरणको सुची सार्वजनिक गर्‍यो र यसमा हस्ताक्षरका लागि खेलाडीहरुलाई डाक्यो । तर केही खेलाडीले वर्गीकरण त्रुटिपूर्ण भएको भन्दै क्यानविरुद्ध खुलेरै आलोचना गरे ।

आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टिकरण माग्यो । त्यसको ५ दिनमा ति खेलाडीले वर्गीकरण त्रुटिपूर्ण भएको दोहोर्‍याउँदै क्यानलाई जवाफ पठाए । खेलाडीले मंसिर ५ मा क्यानमा लिखित रुपमै माग पत्र पनि बुझाए ।

उनीहरुले वर्गिकरणका लागि कप्तान र उपकप्तानसँगको छलफल नभएको, म्याच फि, खेलाडी बीमा नगरिएको, मुख्य प्रशिक्षकको माग लगायतका विषय समेटेका छन् । यसबीचमा क्यान र खेलाडीबीच छलफल भए पनि क्यानले मंसिर १२ गते ७२ घण्टा भित्र स्पष्टिकरण दिन पत्र काट्यो ।

खेलाडीहरुले भने पुनः पूर्ववत जवाफ फर्काए । खेलाडीको यो अडानलाई क्यानले अनुशासनसँग जोड्ने गरेको छ । आफुहरु नेतृत्वमा आएदेखि सुधारका कार्य थाले पनि नयाँ कार्य समितिको अस्तित्व खेलाडीलाई स्विकार्य नभएको क्यानको आरोप छ ।

खेलाडीहरु क्यानमाथि प्रश्न गरिरहँदा क्यान भने ति खेलाडीविरुद्धनै कडा कदम चाल्नेमा देखिन्छ । वर्गिकरणमा कुनै गल्ती र परिमार्जनको आवश्यकता नरहेको क्यानको भनाइ छ । राजनीतिक हस्तक्षेप भएको भन्दै लामो समय आईसीसीको निलम्बनबाट बल्ल सशर्त फुकुवा भएको क्यान पछिल्लो विवादले फेरी गम्भिर दुर्घटनातर्फ उन्मुख छ ।

खेलाडी र क्यानबीचको आपसी टकराबका कारण नेपाली क्रिकेटको भविष्यनै अन्धकारतर्फ धकेलिन सक्ने अवस्था छ । यो विषयमा दुवै पक्ष आ(आफ्नो अडानबाट पछि हट्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्