ए डिभिजन लीग थ्री स्टारलाई रोक्दै एपीएफले खाता खोल्यो
२६ मंसिर २०७८ काठमाडौं । उपाधि दाबेदार थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै एपीएफ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लीगमा खाता खोलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपीएएफले बलियो थ्री स्टारलाई रोक्दै जारी लीगमा एक अंक जोड्न सफल भएको हो । यसअघिका खेलमा नतिजा सुम्पिएको एपीएफले आज सुधारिएको खेल देखाउन सफल भएको हो । खेल अवधिभर थ्री स्टारविरुद्ध एपीएफले तीन अंक जोड्ने लक्ष्यका साथ खेलेको थियो । तर, पटकपटकको आक्रमणलाई थ्री स्टारका गोलकिपर प्रिसोले विफल पारेका थिए ।
बराबरीसँगै उपाधि दाबेदार थ्री स्टारलाई उपाधि होडमा धक्का लागेको छ । चार खेलमध्ये २ मा बराबरी, एक हार र एक खेलमा नतिजा निकालेको थ्री स्टारले ५ अंक जोडेको छ । तालिकाको पुछारमा रहेको टोली एपीएफसँग आइतबार प्रतिस्पर्धा गर्दा थ्री स्टारले दबाब खेप्नु परेको थियो ।
उता खाता नै खेल्न नसकेकाले दबाबमा परेको एपीएपले सुरुआतबाट नै आक्रामक खेल देखाएको थियो । सोही क्रममा १२ औं मिनेटमा एपीएफका प्रदिप लामाले पेनाल्टी क्षेत्रभन्दा बाहिरबाट प्रहार गरेको कडा बल थ्री स्टारका गोलकिपर प्रिसोले सहजै बचाउदा एक मिनेटपछि कप्तान नविन लामाको प्रहारलाई प्रिसोले नै विफल पारेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान विक्रम लामाको फ्रि–किकमा डिफेन्डर अनन्त तामाङ चुके । दोस्रो हाफको अन्त्य तिर एपीएफले अर्को सुन्दर अवसर गुमायो । प्रदिप लामाको क्रसमा सिक्स यार्ड बक्स भित्र रहेका आशिषको हेडर पोस्टको नजिकैबाट बाहिरिन पुगेको थियो ।
८९ औं मिनेटमा पेनाल्टी एरियाको बाहिरबाट एपिएफका आशिषको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले बचाउँदा थ्री स्टारले भने एपिएफविरुद्ध राम्रो मुभ बनाउन सकेन । केही राम्रा अवसर भए पनि थ्री स्टारका स्ट्राइकर सदुपयोग गर्न चुकेका थिए ।
बराबरीले एपिएफलाई जारी लीगमा पहिलो अंक हात लाग्दा रेलिगेशन क्षेत्रमा एक स्थान सुधार गरेको छ । १ अंक मात्र जोडेको थ्री स्टार पाँचौ स्थानमा छ । चौंथो चरणका खेल चलिरहँदा मनाङ मस्र्याङ्दी १० अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र फुटबल क्लब समान १० अंकका साथ दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी फुटबल क्लब ८ अंकका साथ तेस्रो स्थानमा छ ।
लिगमा भोलि दुई खेल हुनेछन् । दिनको पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेल जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । दुबै खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछन् ।
प्रतिक्रिया