खेलकूद

नेपाली क्रिकेटमा पुबुदुको दोस्रो इनिङ्स शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २५ गते २०:२१
नेपाली क्रिकेटमा पुबुदुको दोस्रो इनिङ्स शुरु (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७८ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई ६ वर्ष पछि पुनः पुरानै जिम्मेवारी सम्हाल्न नेपाल फर्किने भएका छन् ।

गत असोजदेखि रिक्त रहेको टोलीको मुख्य प्रशिक्षकका रुपमा नेपाल क्रिकेट संघ क्यानले पुबुदुलाई नियुक्त गरेको हो । यससँगै नेपाली क्रिकेटमा पुबुदुको दोस्रो इनिङ्स शुरु भएको छ । तर परिवर्तित समयसँगै उनको जिम्मेवारीमा चुनौतीको चाङ थपिएको छ ।

श्रीलंकी मुलका क्यानेडियन नागरिक पूर्व प्रशिक्षक पुबुद दासानायकेलाई नेपाली क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा औपचारिक रुपमा नियुक्त गरेको छ । क्यानको शनिबार बसेको बोर्ड बैठकले पुबुदुलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो ।

गत असोजमा अष्ट्रेलियन डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा क्यानले खुल्ला छनोटमार्फत् प्रशिक्षक चयन गरेको हो । आवेदन परेका ६० जना मध्यबाट क्यानले ५ जनासँग अन्तर्वार्ता गरि आईसिसीसँगको समन्वयमा पुबुदुलाई छनोट गरेको हो ।

क्यानले पहिलो रोजाईमा भारतीय प्रशिक्षक मोन्टी देशाईलाई राखे पनि उनीसँग सहमति हुन सकेन् । मोन्टीसँग पारिश्रमिक र इन्डियन प्रिमियर लिग आइपिएलका समयमा मागिएको लामो छुट्टीमा क्यान सहमत हुन नसकेपछि दोस्रो विकल्पका रुपमा रहेका पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।

यसअघि पनि सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीको प्रशिक्षक रहिसकेका उनी नेपाली क्रिकेट, यहाँको माहोल र खेलाडीका विषयमा राम्रो जानकार रहेको कारण पनि उनलाई मुख्य प्रशिक्षकको मुख्य दाबेदारका रुपमा हेरिएको थियो । नेपाली क्रिकेटका सफल प्रशिक्षक मानिने पुबुदुकै प्रशिक्षणमा नेपालले पहिलो पटक ट्वेन्टी ट्वेन्टी विश्वकप खेलेको थियो ।

आफ्नै गुरु रोय डायसको ९ वर्षे कार्यकाल सकिए पछि सन् २०११ मा पहिलो पटक नेपाली टोलीको प्रशिक्षण सम्हाल्न आएका पुबुदुकै समयलाई नेपालमा क्रिकेटको स्वर्णकालका रुपमा समेत लिइन्छ ।

टोलीसँगको ६ वर्षको यात्रामा उनले नेपाली क्रिकेटलाई डिभिजन चारदेखि आजको हैसियतमा पुर्याए भने सन् २०१४ मा बंगलादेशमा भएको ट्वेन्टी टवेन्टी विश्वकपमा समेत नेपालको स्थान पक्का पारे । सिनियर टोलीले आजसम्म खेलेको एक मात्र विश्वकप त्यहिनै हो । एसोसियट टोली मध्ये सफल प्रशिक्षकका रुपमा हेरिएका उनले क्यानडालाई पनि एकदिवशीय विश्वकपमा छनोट गराएका थिए ।

सन् २०१४ को विश्वकप खेलेर फर्किएपछि क्यानसँग खेलाडीको चरम असहमतिमा ऐव्यवद्धता जनाउँदै उनले क्यान पदाधिकारीविरुद्ध लागे । यहि किचलोका कारण २०१५ मा उनले टोलीको प्रशिक्षक छाडेर अमेरिका गए । धरासयी अवस्थको अमेरिकी क्रिकेट उनकै उपस्थितिमा अहिले सम्हालिएको छ ।

तर, आफैविरुद्ध अख्तियारसम्म धाएका त्यही प्रशिक्षकलाई अहिलेको कार्य समितिले नेपाल फर्काउनुको पछाडी क्यान र खेलाडीबीचको सम्बन्ध सुधारको प्रयासका रुपमा समर्थकले हेरेका छन् । खेलमा जस्तै पुबुदुले आफुले पहिलो इनिङमा बनाएको लक्ष्य दोस्रो इनिङ्मा भेट्टाउन सक्लान् त ? अहिले सबै समर्थकले हेरिरहेको विषय हो ।

उनी गइसकेपछिको ६ वर्षमा नेपालले एक दिवसिया मान्यता पनि पायो तर त्यो हैसियत जोगाउन पनि उनी समक्ष चुनौती छ । विश्व क्रिकेटलाई हेर्ने हो भने नेपालसँगैका अन्य टोली धेरै फड्को मारिसकेको छ ।

नेपालसँग विश्वकपमा पराजित भएको अफगानिस्तानलाई अहिले विश्व क्रिकेटकै उदाउँदो राष्ट्रका रुपमा हेरिन थालेको छ । तर नेपाली क्रिकेट भने अझै पुरानै शैलीमा चलिरहेको छ । समयक्रमसँगै आएका केहि प्रतियोगिता बाहेक क्यान अझै पराम्परागत डर्राबाट माथि उठ्न सकिरहेको छैन् । यस्तो अवस्थामा अब पुबुदु समक्ष त्यसलाई चिर्दै नेपाललाई टेस्ट राष्ट्रको मान्यता दिने जिम्मेवारी पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्