राजनीति

कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली- प्रचण्डको सम्वादसम्म

हिमालय टिभी
२०७८ मंसिर २४ गते २०:३०
कांग्रेसको मञ्चमा राजनीतिक घोचपेचदेखि, ओली- प्रचण्डको सम्वादसम्म

२४ मंसिर २०७८ काठमाडौं । फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र ।

काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आआफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन् । त्यसो त कांग्रेसले महाधिवेशनको नारा नै ‘उत्साह, एकता, रुपान्तरण ः सफल बनाऔँ नेपाली कांग्रेसको महाधिवेशन’ भन्ने तय गरेको छ ।

हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन शत्रमा । राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसङ्ग पनि कांग्रेस महाधिवेशन उद्घाटन शत्रको अर्को आकर्षणको पाटो बन्यो ।

पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले पनि कांग्रेसले नेपालका सबै जसो राजनीतिक दलसँग सहकार्य गरेको छ । प्रजातान्त्रिक समाजवादको नारामा कांग्रेसले विसं २००७ को आन्दोलनदेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक नेतृत्व गरेको तथ्य स्पष्ट नै छ । त्यसकारण पनि कांग्रेसको मञ्च अन्य राजनीतिक दलका लागि साझा जस्तै बन्न पुगेको छ ।

उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति, उहाँहरूका धारणासँगै देशको पछिल्लो परिस्थितिले पनि पुनः सहमति, सहकार्य र एकताको विकल्प नभएकामा मतैक्य देखिन्थ्यो । झण्डै दुई तिहाई जनमत प्राप्त गरेको तत्कालीन नेकपा पूर्ववत् पार्टीका रुपमा विभक्त भएपछि बदलिएको राजनीतिक परिस्थितीले कांग्रेसलाई पुनः देशको नेतृत्व गर्ने स्थानमा पु¥याइदिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि प्रमुख पाँच राजनीतिक दलले गठबन्धन गरेर सहकार्यको संस्कृतिलाई अगाडि बढाएको सन्दर्भ पनि कांग्रेस महाधिवेशनमा मुखरित भएको छ ।

लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा(एमाले)का अध्यक्ष ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति पनि अर्को महत्वपूर्ण दृश्यका रूपमा महाधिवशेनमा देखियो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गर्नुभएको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ नै बनेको थियो ।

पटकपटक राजनीतिक परिवर्तन नभए पनि जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन नआएको भन्दै नेकपा (माले)का महासचिव सिपी मैनालीले यर्थाथता पेश गर्नुभयो । महासचिव मैनालीको धारणाभन्दा अझै अगाडि बढेर राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको तर्क गर्नुभयो । उहाँले इतिहास भइसकेको राजतन्त्रको पुनःस्थापनाको पक्षमा धारणा राख्नुभएको थियो ।

लिङ्देनको तर्कप्रति तीन पूर्व प्रधानमन्त्रीले आपत्ति जनाउनुभयो । एमाले अध्यक्ष ओली, माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लिङ्देनको भनाइलाई खण्डन गर्नुभयो । ओलीले भन्नुभयो, “नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ ? यस्ता कुरा बोकेर हिड्ने ? हुन त भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई ?” अध्यक्ष ओलीले थप अगाडि भन्नुभयो, “भर्खर भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ । भर्खर भर्खर सभापति भएको रापताप हो । अलिक समयपछि ठिक आउला भन्ने मलाइ लाग्छ ।”

लोकतान्त्रिक आन्दोलनमा त्याग र सङ्घर्ष गरेका नेताको बदनाम गर्नुको पछाडि निरङ्क्ुशता जगाउने षड्यन्त्र रहेको भन्दै माओवादीका अध्यक्ष दाहालले नेतृत्वलाई खुइल्याउने प्रवृत्तिका विरुद्ध जुध्न आग्रह गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले त नेपालको संविधानले सबैलाई राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै पूर्वराजालाई पनि पार्टी खोलेर राजनीति गर्न सुझाव दिनुभयो ।

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको भन्दै भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले आश्चर्य प्रकट गर्नुभएको थियो । उहाँले यसलाई सहकार्यको साझा संस्कृति भन्दै नेपालका राजनीतिक दल र त्यसको नेतृत्वबाट विश्वका राजनीतिक दलले सिक्नुपर्ने धारणा राख्नुभएको थियो ।

हर्षवद्र्धनको उक्त भनाइप्रति टिप्पणी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामीले राजनीतिक रुपमा प्रतिस्पर्धा मात्रै गरेका छैनौँ, एकले अर्कालाई प्रधानमन्त्री पनि बनाएका छाँै ।” अध्यक्ष दाहालले नेपालमा नयाँ संस्कार विकास गरिएको र एकले अर्को नेतालाई प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयो ।

दिउँसो एकबजेदेखि शुरु भएको उद्घाटन सत्र साँझ ६.४० सम्म चलेको थियो । शुभकामना दिन निम्त्याइएका अन्य राजनीतिक दलका शीर्ष नेतालाई बिदाइ गरेपछि कांग्रेसका पदाधिकारीले पालैपालो सम्बोधन गर्नुभएको थियो । सभापति देउवादेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले आफूलाई मत दिन आग्रह गरेको दृश्य आफैँमा अर्को रमाइलो थियो । गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बनाउन आफूलाई जिताउन आग्रह गर्नुभएका सभापति देउवा र नयाँ नेतृत्वको खोजी जरुरी रहेको धारणा राख्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलकाबीचमा कांग्रेसको उत्थानका विषयमा साझा मत व्यक्त भएको थियो ।

वरिष्ठ नेता पौडेलले वामपन्थी शक्तिभन्दा काँग्रेस पछाडि पर्नुको कारण खोज्नुपर्नेमा जोड दिँदै सैद्धान्तिक रुपमा अब्बल बन्न सबैको मेहनत जरुरी रहेको बताउनुभयो । विभिन्न भेषभूषा, भाषाभाषी सांस्कृतिक प्रस्तुतीले कांग्रेस महाधिवेशन उद्घाटन सत्र आफैँमा ऐतिहासिक बनेको थियो । बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको जगमा उभिएको कांग्रेसले महाधिवेशनबाट नेता मात्रै छान्छ कि नयाँ नीति पनि तय गर्छ भन्ने आम चासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्