खेलकूद

मनाङ र आर्मी विजयी हुँदा फ्रेण्ड्स र च्यासल पराजित

हिमालय टिभी
२०७८ मंसिर २४ गते १९:०८
मनाङ र आर्मी विजयी हुँदा फ्रेण्ड्स र च्यासल पराजित

२४ मंसिर २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीगको चौंथो चरणमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी फूटबल क्लबले अपराजित यात्रा जारी राखेका छन् ।

दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा आर्मीले च्यासल युथ क्लबलाई २–० गोलले हरायो । आर्मीको जितमा स्ट्राइकर जर्जप्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठले १–१ गोल गरे । खेलको १९ औं मिनेटमा जर्जप्रिन्स कार्कीले आर्मीलाई अग्रता दिलाए ।

टंक बस्नेतले गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका जर्जले हेडर गर्दै आर्मीलाई अग्रता दिलाए । लगातार च्यासलमाथि दबाब बनाएको आर्मीका लागि ३६ औं मिनेटमा जगजितले अग्रता दोब्बर बनाए ।

च्यासलका गोलरक्षक अर्पण कार्कीले हतारिएर रिलिज गरेको बल नियन्त्रणमा लिँदै गौतम श्रेष्ठले दिएको पास जगजितले वान टचमा आकर्षक गोल गरे । अधिकांश समय बलमा पकड बनाएको आर्मीले दोस्रो हाफमा पनि राम्रो मौका सिर्जना गरेपनि कुनै गोल हुन सकेन । जितसँगै ४ खेलबाट ८ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । च्यासल भने ४ अंक सहित नवौं स्थानमै छ ।

यसअघि आजै भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा उक्लिएको छ । मनाङलाई जित दिलाउन नाइजेरियन फरवार्ड ओलावाले अफिज र दिनेश राजवंशीले १–१ गोल गरे । पहिलो हाफको अन्त्यमा ओलावालेको गोलबाट मनाङले अग्रता लियो ।

पुजन उपरकोटीको लामो क्रसलाई कप्तान अन्जन विष्टले दिएको पासलाई अफिजले पोष्ट नजिकैबाट हेडर गर्दै गोल गरे । ७३औं मिनेटमा दिनेश राजवंशीले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।

पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत पोष्टको दिशा दिएका हुन् । जितसँगै मनाङले ४ खेलबाट ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ । एक खेल कम खेलेका सातदोबाटो र मच्छिन्द्रको ७–७ अंक छ । पराजित फ्रेन्ड्स ४ खेलबाट २ अंक जोडेर १२ औं स्थानमा छ ।

लिगमा भोली सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटी तथा हिमालयन शेर्पा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्