आर्थिक

पूर्वीनाका काँकडभिट्टाबाट चार महिनामा पाँच करोडको कोदो आयात

हिमालय टिभी
२०७८ मंसिर २३ गते ६:२६
पूर्वीनाका काँकडभिट्टाबाट चार महिनामा पाँच करोडको कोदो आयात

२३ मंसिर २०७८ झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच करोडभन्दा बढीको कोदो नेपाल आयात भएको छ ।

क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ, असोज र कात्तिक महिनामा रु पाँच करोड १५ लाख २५ हजार मूल्य बराबरको एक हजार ६१० मेट्रिकटन कोदो आयात भएको हो ।

गत वर्ष सोही अवधिमा रु चार करोड ५१ लाख ९४ हजार मूल्यको एक हजार ५७० मेट्रिकटन कोदो आयात भएको थियो । क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तराखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताउनुभयो । उहाँले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिकटन कोदो बढी आयात भएको बताउनुभयो ।

बिर्तामोड नगरपालिका–५ मा मोति इन्टरनेसनल विक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार केजी कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताउनुभयो । उहाँले भारतबाट ल्याइने कोदोलाई ५० केजीको बोरामा प्याकेजिङ गरेर विक्री गर्ने गरेको बताउनुभयो ।

अग्रवाल जस्तै अन्य पाँच वटा विक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर विक्री गर्दै आएका छन् । उहाँका अनुसार नेपाल २० वर्ष अघिसम्म हेटौडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर थियो तर हेटाँैडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर विक्री हुन थालेको हो । “गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो आफ्नै देशको हेटाँैडामा”, उहाँले भन्नुभयो, “युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा शहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनु पर्यो ।”

कृषि ज्ञान केन्द्र झापाका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टरमा मात्र कोदो खेती हुँदै आएको बताउनुभयो । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताउनुभयो ।

उहाँले विशेषगरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय होमस्टे, रेष्टुरेन्टमा कोदोको रोटी, ढिँढोको परिकार बनाउनसमेत कोदो आयात हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *